हात्ती पीडित किसानले भने : ‘हाम्रो जीवन र बाली बचाइदेउ’

2025-06-10 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । वर्षाैदेखि हात्तीबाट प्रताडित हुँदै आएका बाहुनडाँगी बासीहरुले मेचीनगरपालिका पुगेर आफ्नो जीवन र बाली बचाइदिन आग्रह गरेका छन् । हात्ती समस्याको दीगो समाधान खोज्न उनीहरुले बृहत र्याली सहित बिहीबार नगरपालिका पुगेर नगरको ध्यानाकर्षण गराएका थिए ।
हामी वर्षाैदेखि हात्तीका कारण पीडित छौं तर सरकार बाहुनडाँगी हात्ती मैत्री भयो, मान्छे र हात्ती सँग सँगै रमाउँछन् भने प्रचार गरिरहेको छ । हाम्रो पीडा कसले सुनिदिने नगरपालिका पुगेका हात्ती पीडितहरुले स्थानीय सरकारलाई पीडा सुनाए ।
सहभागिहरुले भारतीय हात्तीलाई उतै रोक्न माग गर्दै । हात्ती चराउन पाइँदैन, राहात हामीलाई चाहिँदैन । हात्तीआयो पारीको मकै खायो वारीको भन्दै चर्का नारा लगाएका थिए ।
संघर्ष समितिका संयोजक प्रसाद पाण्डेको संयोजनमा नगरपालिका पुगेको टोलिले नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
सो अवसरमा हात्ती पीडित मेघराज खड्काले केही वर्ष अघिसम्म सोलार फेन्सिङको कारण नियन्त्रणमा आएको हात्ती पछिल्लो समय सोलार फेन्सिङ विग्रिदै गएपछि पूनः बाहुण्डाँगीबासी हात्तीसँग संघर्षगरेर जीवन जिउन बाध्य भएको बताए । मानव हात्ती द्धन्द व्यवस्थापन समितिको पहलमा केही वर्ष अघि सोलार फेन्सिङ गरिएपछि हात्ती नियन्त्रणमा आएको थियो उनले भने, ‘आज फेन्सिङ विग्रिको छ, ब्याट्री हराउँदै गएका छन् त्यसको व्यवस्थापन र संरक्षणमा सरकारले चासो दिएन बरु हात्ती करिडोरको कुरा गरिरहेको छ ।’


बाहुनडाँगीबासी जीवन भर आरामले निदाउन नपाएको उनको दुखेसो छ । हात्तीकै कारण बाहुनडाँगीको भविश्य अन्योल बन्दै गएको उनको भनाइ थियो । हरेक निर्वाचन ताका हात्ती समस्या समाधानको विषय उम्मेदवाहरुको निम्ति पहिलो एजेण्डा बन्छ निर्वाचनपछि त्यो विषय सेलाउँछ भन्दै उनले बाहुनडाँगीबासीको भावनामा नखेल्न आग्रह समेत गरे ।
समाजसेवी गोपी रिजालले बाहुनडाँगीको हजारौं विघा उर्भर जमिन बाँझो हुँदै गएको बताए । घरबाट बिहान हिँडेको सदस्य बेलुका सकुशल फर्किन्छन कि फर्किदैनन् यो चिन्ताले परिवारलाई सँधै पिरोल्ने गरेको छ, घाँस काट्न गएको मानिस बेलुका घर फर्कन पाउँदैन्, बेलुका सुतेको मानिसले विहानको उज्यालो देख्न पाउँदैन यस्तो पीडामा कसरी बाँच्न सकिएला ? उनले प्रश्न गरे ।
‘बाली क्षतिभएमा बीमाले क्षतिपूर्ति दिन्छ भन्छन्,’ उनले भने, ‘हामीलाई त्यो किसिमको सुविधा चाहिएको होइन, हामी आरामले हात्तीको पीडाबाट मुक्त भएर बाँच्न पाउँनु पर्छ ।’
स्थानीय विशाल तामाङले वास्तवमा बाहुनडाँगीबासी ठूलो पीडामा रहेको बताए । नत विद्यार्थीले तनाव रहित ढंगले पढ्न पाउँछन्, नत अभिभावकले आफनो र परिवारको भविश्यको लागि सोच्न सकेका छन् । भोलिको उज्यालो देख्न पाइँने होकी होइन भन्ने चिन्तामै उनले बाहुनडाँगीबासीलाई सँधै पिरोल्ने गरेको उनको भनाइ थियो । बाहुनडाँगीको अधिकांश जमिन खेती योग्य जमिन हो तर हात्तीका कारण खेती योग्य जीवन बाँझीने क्रम बढ्दै गएको उनले बताए ।
रविन श्रेष्ठले आफनो पीडा सुनाउँदै गर्दा सहभागिहरु भाबुक बनेका थिए । ‘धानखेतीमा बारम्बार हात्तीले क्षति गरेपछि हामीले सुपारी खेती लगायौं,’उनले भने, ‘हुर्किसकेका सबै सुपारी समेत यसपटक हात्तीले भाँचिदियो । अव कसरी जीवन जिउने ? उनले प्रश्न गरे । यस क्षेत्रमा अधिकाशं मानिस कृषि पेशामा छन्, रातभर हात्ती रुङ्नुपर्छ, अनि दिउँसो काम कसरी गर्ने, विद्यार्थीले पढ्ने की हात्ती छेक्नजाने उनले दुखेसो पोखे ।
पछिल्लो समय बाहुनडाँगी हात्तीमैत्री भयो भनेर प्रचार भइरहेको छ उनले भने सर्वसाधारणका निम्ति वन्यजन्तु संरक्षण गर्नु भनेको काललाई निम्त्याउनु सरहजस्तै हो । बालीनाली तथा घर नोक्सानी गर्ने कुरा त छँदैछ, वन्यजन्तुले कहिलेकाहिँ मानिसको ज्यानै लिन्छ । हात्तीबाट हुने नोक्सानी सबैभन्दा बढी छ । उनले हात्ती नियन्त्रणको लागि दीगो व्यवस्थापन गर्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु