
मेचीनगर । मेचीनगरको धुलाबारीमा सञ्चालित कोशी प्रदेशकै पहिलो सामुदायिक इन्जिनियरिङ क्याम्पसको मंगलबार एक कार्यक्रका बीच उद्घाटन गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्व प्रकाश शर्माले क्याम्पस परिसरमा निर्माण गरिएको इञ्जिनियरिङ स्तम्भ अनावरण गरेर क्याम्पस उद्घाटन भएको घोषणा गरेका थिए । स्तम्भ अनावरण पछि प्रमुख अतिथि एवम अतिथिहरुले क्याम्पसको निरीक्षण समेत गरेका थिए ।
क्याम्पस उद्घाटन पछि औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले विद्यार्थीहरुलाई इंकित गर्दै भने, ‘हामीले कलेज पढ्ने समयमा यहाँ कतै कलेज थिएन, कोही साइकलमा त कोही गाडीमा कोचिएर भद्रपुर धाउनु पथ्र्याे तपाईहरु आज भाग्यमानी हुनु हुन्छ घरै छेउमा इन्जिनियरिङ कलेज आएको छ । भविश्य उज्वल बनाउनु होला ।’
उनले लोकतन्त्र स्थापना पछि तीब्र रुपमा विकासका कार्यक्रम अघि बढेको बताए । ‘खानेपानी, शिक्षा र पूर्वाधारमा थुप्रै काम भएका छन्,’ उनले भने, ‘खानेपानी टेंकी निर्माण र धारा विस्तारको कामले तीब्रता पाएको छ, कालोपत्रे सडक सञ्जाल क्रमश अघि बढेको छ । तरपनि जनतामा निराशा चुलिँदो छ । उनले जनतामा देखिएको निशासा अव चाँडै समाप्त हुने बताए । राजनीतिक नेतृत्वको कारण जनतामा निराशा छाएको बताउँदै उनले ८३ पछि नेतृत्व परिवर्तन हुने दावी गरे । चुनाव हुने नयाँ सरकार आउने प्रधानमन्त्री पुरानै हुने परिपाटीले जनता निराश छन्, महामन्त्री शर्माले भने, ‘त्यो समस्या ८३ पछि अन्त्य हुन्छ ।’
उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउँदै यसमा भएका कमि कमजोरीलाई सच्याएर अघि बढ्नु पर्ने धारणा राखे । लोकतान्त्रिक गणतन्त्रको पद्धतीको बाटोबाटै समाजलाई रुपान्तरण गर्न सकिने उनको भनाइ थियो ।
प्रदेश सांसद गोपाल तामाङले शिक्षाको क्षेत्रमा जन अपेक्षा अनुसार काम हुन नसकेको बताउँदैे विद्यालयको भौतिक पूर्वाधारको विकासमा ध्यान दिनु पर्ने धारणा राखे । ‘मेचीनगर क्षेत्रमा रहेका सामुदायिक विद्यालय र क्याम्सपको अवस्था दयनीय छ,’ उनले भने, ‘विद्यालयको छाना चुहीँने छ, दिवाल भत्किने अवस्थाको छन्, डेक्स बेन्चको अभाव छ अनि विद्यार्थीले कसरी पढ्छन् ।’ उनले शैक्षिक क्षेत्रमा ठूलो लगानी जरुरी रहेको बताए । उनले धुलाबारी क्याम्पसलाई कोशी प्रदेशकै नमूना इन्जिनियरिङ क्याम्पसको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकी र अग्रज पत्रकार चन्द्र भण्डारीले नगरपालिकाको नेतृत्वले कार्यक्रममा उपस्थित नजनाएर प्राविधिक शिक्षा प्रति उदाशिनता देखाएको आरोप लगाए ।
धुलाबारी क्यम्पसका अध्यक्ष भिम खवासको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा क्याम्पस प्रमुख पुष्पराज पौडेलले क्याम्पसमा प्राविधिक विषय सञ्चालन गर्ने बिषयमा भएका प्रयास र वर्तमानमा क्याम्पसको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमकैबीच जग्गादाता, क्याम्पसको संस्थापक समिति, चन्दादाता, भवन निर्माण समिति लगायतलाई सम्मान गरिएको थियो । प्रत्येक बर्ष ४८ जना विद्यार्थीले सिभिल इन्जिनियरिङमा अध्ययन गर्न मिल्ने र निजि क्याम्पसमा भन्दा कम शुल्कमा नै अध्ययन गराइने क्याम्पसका निर्देशक रुद्र मैनालीले जानकारी दिए ।
कार्यक्रममा संविधान सभा सदस्य, धर्मशीला चापागाँई, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, भवन निर्माण समितिका अध्यक्ष चन्द्र कुमार श्रेष्ठ, एमाले नेता विष्णु प्रसाई लगायतले बोलेका थिए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पुनित कुमार बंशलले स्वागत गरेको कार्यक्रमको सञ्चालन दामोदर ढुङ्गेलले गरेका थिए ।
प्रतिकृया दिनुहोस्