
भद्रपुर , भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ८० करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।
भद्रपुर नगरपालिकाको १६ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्ष भन्दा आकार घटाएर बजेट प्रस्तुत गरेकी हुन् ।
चालु आर्थिक वर्ष २०८१÷र८२ मा एक अर्ब सात करोड एक लाख ६९ हजार रुपैयाँ घाटा बजेट ल्याएकोमा आगामी आर्थिक वर्षमा झन्डै २७ करोड बजेट कम ल्याएको छ । संघ तथा प्रदेशको अनुदानमा कटौतीसँगै नगरपालिकामा रहेको मौज्दात रकम अभावका कारण बजेटको आकार घटेको जनाइएको छ ।
बजेटमा संघीय राजस्व बाँडफाँडबाट १२ करोड ३३ लाख ५० हजार, स्थानीय राजस्व बाँडफाँडबाट रु ४ करोड, प्रदेश राजस्व बाँडफाँडबाट रु ९८ लाख २१ हजार, आन्तरिक श्रोतको ७ करोड, संघीय वित्तीय हस्तान्तरणबाट ५१ करोड १० लाख, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ६३ लाख ५७ हजार गरी कुल ८० करोड ५ लाख २८ हजारको आय अनुमान गरिएको उपप्रमुख कार्कीले बताइन् ।
उनका अनुसार नगरपालिकाको कार्यालय प्रशासनिक खर्चमा १४ करोड विनियोजन गरिएको छ । यसभित्र वडा, स्वास्थ्य कार्यालय, नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूको तलवभत्ता लगायत अन्य प्रशासनिक खर्च समावेश गरिएको छ । त्यस्तै वडामा भएका विकास निर्माण, योजना मागको चाप, नागरिकको आवश्यकता समेतलाई मध्यनजर गरी वडागत सिलिङमा बढोत्तरी गरिएको छ ।
वडागत सिलिङतर्फ एक करोड एक लाखको दरले कुल १० करोड ८ लाख विनियोजन गरिएको छ । यसबाट पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, खानेपानी, लक्षित वर्ग, सीमान्तकृत वर्ग, आदिवासी जनजाति, महिला, बालबालिका, दलित, मुस्लिम लगायतका विषयहरू वडाबाटै सम्बोधन हुने अपेक्षा राखिएको छ । त्यसैगरी सहरी सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापनका लागि अत्यावश्यक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था राखिएको छ ।
नगरबाट हुने नगरस्तरीय आयोजना, विगतका कार्यक्रमको निरन्तरता, सम्पन्न हुन नसकेका योजना कार्यक्रम समेतलाई मध्यनजर गरी यस्ता योजना कार्यक्रमतर्फ रु ११ करोड बजेट खर्च प्रक्षेपण हुने गरी व्यवस्था ल्याएको उनले बताइन् । त्यस्तै सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगार प्रवद्र्धन, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लक्षित वर्गको हित प्रवद्र्धन साथै रोजगार तथा उद्यमशीलताको विकास र विस्तार गर्ने कार्यक्रम सञ्चालन गर्न १४ करोड ५६ लाख विनियोजन गरेको उनको भनाई छ ।
त्यस्तै नगर प्रमुख गणेश पोखरेलले शिक्षा, खेलकुद, कृषि, रोजगार प्रवद्र्धन, पर्यटन, पूर्वाधार विकासलाई लक्षित गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा जनप्रतिनिधिहरूले उठाएको प्रश्नहरूको जवाफ नगर प्रमुख पोखरेलले र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दिएका थिए ।
प्रतिकृया दिनुहोस्