मेचीनगर – १५ मा झोलुङ्गे पुलले दिएको खुसी

2025-08-27 मा प्रकाशित

डम्बर बराल

मेचीनगर । मेचीनगर – १५ स्थित हेल्दुबारी र बिचार्नी बजारलाई जोड्ने निन्दा नदीमा झोलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीय यतिखेर निक्कै उत्साहित बनेका छन् ।
पुल नहुँदा वर्षाैदेखि खोलाबाटै जोखिमको यात्रा गर्दै आएका उनीहरु पुल बनेपछि उत्साहित बनेका हुन् ।
‘खोलाका कारण हामीलाई निक्कै समस्या थियो’, हातमा कागजात लिएर निन्दा खोला पारी वडाकार्यालय जाँदै गर्दा भेटिएकी स्थानीय ६६ वर्षीया देशमाया मगरले भनिन्, वडा कार्यालय जान होस् या बजार बर्खायाममा त धेरैको काम रोकिन्थ्यो । खोला तर्न सक्नेहरु ज्यान जोखिममा पाररै भएपनि खोलाबाटै जान्थे, नसक्नेहरु पाँच सय मिटरको बाटो १४ किलोमिटर घुमेर पुग्नुपर्ने बाध्यता थियो । अब त्यो समस्या अन्त्य भयो,’ उत्साहित हुँदै उनले भनिन् ।
मेचीनगर – १५ कै बिचार्नी निवासी ४१ वर्षीय गणेश लिम्बु निन्दामा उर्लिएको बाढी तर्न नसक्दा वारी (पारीको गाउँको सम्पर्क नै टुटेका दिन सम्झन्छन् । यसपटक उनी धान खेतीमा पानी हाल्नका लागि बोरिङ मेसीन लिन हेल्दुबारी जाँदै थिए । नयाँ बनेको झोलुङ्गे पुलबाट सहज तरिकाले वारी (पारी गर्न पाउँदा अत्यन्तै खुशी लागेको उनले बताए । ‘बर्खामा बाढी आउँदा खोला तर्न नसकेर यसै फर्किएका अनुभवहरु धेरै छन् । वारी – पारीको छिमेकी गाउँ हो हाम्रो । अर्मपर्म, खेतलापात पनि चलिरहन्छ,’ उनी भन्छन्, ‘तर, बर्खामा बाढी आउँदा चाहिँ धेरै समस्या हुन्थ्यो । पुल बनेपछि साह्रै खुशी लागेको छ ।’


त्यसो त मेचीनगर – १५ अन्य वडामध्ये विकास निर्माणका दृष्टिले पछाडि परेको वडा हो । पूर्वका दुई वटा ठूला नदी मेची र निन्दा यसै वडाको भूगोलबाट बग्छन् । पूव–पश्चिम राजमार्गबाट दक्षिणमा पर्ने यस वडामा पाहान, उराउ, चौधरी, राजवंशी, ग्वाल लगायतका समुदायको बाहुल्यता छ । यो त्यहि वडा हो । जहाँ मेची नदी तरेपछि पनि नेपाल पुगिन्छ । अर्थात यहाँ मेची पारी पनि नेपाल छ ।


‘भौगोलिक रुपमा यो वडा ठूलो र विकासका दृष्टिले पछि परेको वडा थियो, अब त वडाले काँचुली फर्दै छ’, वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले भने, ‘यस वडाका मुख्य सडक सहिद मार्ग र गोकुल मार्ग कालोपत्रे भइसकेका छन् । युवा सीप विकास तालिम केन्द्र निर्माण सम्पन्न गरेको छौं, क्षेत्रगत रुपमा सामुदायिक भवन निर्माणको चरणमा छन्, स्वास्थ्य चौकीको भवनमा केही मर्मतको काम बाँकी छ । यस आर्थिक वर्षमा ती अधुरा काम पनि पुरा गर्छाैं ।’
जनप्रतिनिधिको रुपमा दोस्रो कार्याकाल विताउँदै गरेका वडाध्यक्ष भट्टराईले जनभावना अनुसार भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा काम गरिरहेको बताए । ‘हामीले विकास निर्माणका थुप्रै काम अधि बढाएका छौं’, उत्साहित हुँदै उनले भने, ‘हेल्दुबारी र बिचार्नीलाई जोड्न निक्कै संघर्ष गर्याै आज त्यो अभियान पनि पुरा भएको छ ।’ जिल्लाकै दोस्रो लामो झोलुङ्गे पुल आफ्नो ठाउँमा बनेपछि स्थानीय उत्साहित भएको उनले बताए । सो क्षेत्रमा आकर्षक झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय मात्र होइन झापा जिल्लाका बिभिन्न ठाउँबाट पूल हेर्न, भिडियो खिच्न र टिकटक बनाउन दैनिकजसो मानिसहरु आउन थालेको उनको भनाइ छ । उनले मेची पारीको समस्या समधानको लागि समेत प्रदेश र संघीय सरकारलाई झकझक्याई रहेको बताए ।
पुल निर्माण पछि वडाले सो क्षेत्रमा आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्न आकर्षक पार्क तथा सडक निर्माण गर्ने योजना अघिसारेको छ । ‘पुल उद्घाटन अघि नै हामी पुल तर्फ जाने सडक कालोपत्रे गर्ने र सडक किनारामा बिभिन्न प्रजातिका विरुवा रोप्ने योजनामा छौं,’ वडाध्यक्ष भट्टराईले भने, ‘यो पुल आन्तरिक पर्यटकहरुको लागि आकर्षक गन्तब्य बन्ने छ । त्यसको लागि आकर्षक पार्क तथा सडक निर्माण गर्ने तयारीमा छौं । उनले पुल पूर्व तर्फ होलो व्लक बिच्छ्याउने र पश्चिम तर्फ कालोपत्रे गर्ने योजना सुनाए ।


पुलमा भिडियो खिच्दै टिकटक बनाउँदै गरेको अवस्थामा भेटिएकी स्थानीय पुष्पा श्रेष्ठले उत्साहित हुँदै भनिन्, ‘हाम्रो वर्षाैदेखिको सपना पुरा भएको छ । पुल नहुँदा धेरै जनाको वारि पारिको सम्बन्ध टुटेको जस्तै थियो, आज दुई गाउँको मन जोडिएको छ ।’ उनले पुल नहुँदा खासगरी विद्यार्थी, खेती किसानी गर्ने र दैनिक मजदुरी गर्नेहरुले ठूलो सास्ती व्यहोर्नु परेको तीतो यथार्त सुनाइन् ।


हेल्दुबारीका स्थानीयलाई वडाकार्यालय, अस्पताल तथा सो क्षेत्रका विद्यार्थीहरुलाई विद्यालय आउन मात्रै सहज भएको छैन । बिचार्नीका सन्दीप सुब्बाले भने, ‘बिचार्नीका नागरिकलाई हेल्दुबारी, इटाभट्टा तथा काँकरभिट्टा जान तीनगुना बाटो छोटिएको छ । बर्खायाममा विद्यार्थी विद्यालयजानबाट बन्चित हुन्थे, खेती किसानी गर्नेहरु जीवन जोखिममा मोलेर खोला तर्थे अब ती सबै समस्याको अन्त्य भयो ।’, उनले खुसी व्यक्त गरे ।
चार करोड ३८ लाखको लागतमा निर्माण सम्पन्न भएको तीन सय ५० मिटर लामो उक्त पुल अहिले तयारी अवस्थामा रहे पनि औपचारिक उद्घाटन भने भएको छैन । तर, स्थानीयलाई प्रयोगका लागि भने खुला गरिएको छ । २०८१ पुस मै सम्पन्न गरिसक्नु पर्ने गरी २०७९ असारमा नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता भएको उक्त पुल बजेट अभावका कारणले पिलर मात्रै ठडिएर लामो समय निर्माण कार्य स्थगित रहेको थियो । पछिल्लो समय बजेट सुनिस्चित भएसँगै पुल निर्माणको काम सम्पन्न भएको छ । समयमा पुल निर्माण नहुँदा ज्यामिरगढीका सचेत युवाहरुले तत्काल पुल निर्माण गर्न खबरदारी समेत गर्दै आएका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु