बालकल्याण माविद्धारा पुरस्कार वितरण सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

2025-10-16 मा प्रकाशित

डम्बर बराल
मेचीनगर / मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले बिहीबार पुरस्कार वितरण, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
यहाँ स्थित अँधेरी सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रममा २०८१ सालको एस.ईई. परीक्षामा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई पुरस्कृत तथा उत्रीर्ण गरेका सम्पूर्ण विद्यार्थीहरुलाई विदाई गर्नुका साथै विभिन्न विद्यामा कक्षा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । साथै विद्यालयले २०८१ सालको एस.ईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने शिक्षकलाई समेत सम्मान गरेको छ ।


विद्यालयमा स्थापित बिभिन्न अक्षयकोष मार्फत विद्यालयले शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरेको हो । एस.ईई परीक्षामा सामुदायिक विद्यालय तर्फ मेचीनगरमै छुट्टै पहिचान स्थापित गर्दै अघि बढेको यस विद्यालयले शिक्षक तथा विद्यार्थीहरुलाई हौसला प्रदान गर्न हरेक वर्ष बिभिन्न अक्षयकोष मार्फत पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गर्दै आएको छ । विद्यालयले अनुशासन, सरसफाइ, जेहेन्दार विद्यार्थी, पोशाक छात्रवृत्ति, कक्षा उत्कृष्ट तथा विद्यालय उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर – ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि कार्कीले विद्यालयले विगत केही वर्षदेखि शैक्षिक सफलता हासिल गर्दै गएको भन्दै विद्यालय परिवारको खुलेर प्रशंसा गरे । उनले बिभिन्न अक्षयकोष मार्फत शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गर्ने परिपाटीले शिक्षक तथा विद्यार्थीहरुलाई हौसला हुनुका साथै शिक्षण सिकाई प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
समाजसेवी तथा उद्योगी व्यवसायी विजय डालमियाँले बैज्ञानिक डा. महाबीर पुन द्धारा लिखित ५ वटा पुस्तक विद्यालयलाई हस्तान्तरण गर्दै पुस्तकको अध्ययनले शैक्षिक सफलतामा ठूलो सहयोग पुग्ने बताए । उनले विद्यार्थीहरुलाई वातावरणीय सरसफाइमा विषेश ध्यान दिन समेत आग्रह गरे ।


विद्यालयले शैक्षिक सत्र २०८१ सालको एस.ईई परीक्षामा विद्यालय प्रथम भएका आयुस खत्री र द्धितीय भएका कुशुम लिम्बूलाई राधाबल्लभ पराजुली स्मृति अक्षयकोष मार्फत क्रमश ६ हजार र ४ हजार नगद सहित पुरस्कृत गरेको छ । त्यसैगरी श्रेया एण्ड समीर अक्षयकोष मार्फत कक्षा ८ की इशा निरौला र कक्षा ९ की लिलादेबी बुढाथोकीलाई जनही नगद ३ हजार राशीद्वारा पुरस्कृत गरेको छ ।


विद्यालयले विष्णुमाया देवकोटा स्मृति अक्षयकोषबाट नगद ४ हजार राशीको पोषाक छात्रवृत्ति पुरस्कार एञ्जल श्रेष्ठलाई प्रदान गरेको छ ।
त्यसैगरी सन्तलाल माझी अक्षयकोष मार्फत शैक्षिक सत्र २०८१ को एस ईई परीक्षामा शिक्षा विषयमा सतप्रतिशत नतिजा सहित उत्कृष्ट जीपीए प्राप्तगर्न सफल शिक्षक गोकर्णप्रसाद तिम्सिनालाई १० हजार नगद राशी सहित सम्मान पत्रद्धारा सम्मान गरेको छ ।

त्यसैगरी विजय डालमियाँ अक्षयकोषमार्फत विद्यालयले रिन्छेन् तामाङ, इशा निरौला र युनिशा भट्टराईलाई पुरस्कृत गरेको छ । विद्यालयले डालमियाँ अक्षयकोषमार्फत हरेक वर्ष कक्षा १ देखि ५ सम्मका १ जना र कक्षा ६ देखि १० सम्मका १ जना होल्डफष्ट छात्र –छात्रालाई छात्रबृद्धि प्रदान गर्ने जनाएको छ । विद्यालयले यस वर्ष ३ जना होल्डफष्ट विद्यार्थी भएकोले सोही अनुसार पुरस्कार वितरण गरेको हो । डालमियाँले हरेक वर्ष १५ हजार बराबरको पुरस्कार वितरण गर्ने जनाएका छन् । उनले शिक्षक अभिभावक लगानीकोषमा समेत रु ५ हजार नगद प्रदान गरेको विद्यालयका प्रावि इञ्चार्ज सन्तलाल माझीले जानकारी दिए ।
त्यसैगरी विद्यालयले एनएमसी सहकारी बालकल्याण मावि जेहेन्दार विद्यार्थी अक्षयकोषबाट समेत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
विद्यालयले हालै जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै प्रतियोगितामा सहभागि विद्यार्थी खेलाडीहरुलाई समेत सम्मान गरेको छ ।


कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष सुभाष लिम्बू, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष रंगलाल गिरी, गणेशप्रसाद सुवेदी, अनन्त प्रकाश दाहाल, कार्यपालिका सदस्य माया प्याकुरेल, वडा सदस्यहरु मनकुमार लिम्बू, पुष्प गेलाल, लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कुलमणी भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु