मेचीनगर । बाङ्गे पुल फुटबल क्लवको आयोजनामा झापाको मेचीनगर १३ स्थित हातेमालो सामुदायिकको विरान खेल मैदानमा जारी वडास्तरीय फुटबलको उपाधि साविक दुवाडी ३ ले जित्न सफल भएको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा साविक दुवागडी – ६ स्थित रोटेकमिला क्लबलाई १– ० को अन्तरले पराजित गर्दै साविक दुवागढी ३ विजयी भएको हो । मैदानमा खेलाडी प्रवेश गरेको एक मिनेटमै दुवागढी – ३ ले गोल गर्न सफल भएको थियो । सोही गोलको अग्रतालाई कायम राख्दै दुवागढी ३ विजेता बन्न सफल भएको हो ।

उपाधि चुम्न सफल दुवागडी ३ ले १५ हजार नगद सहित सिल्ड, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता टिमले १० हजार नगद सहित सिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्तगरेको छ । विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा विजेता टिमका जर्सीनम्बर ८ का खेलाडी अशोक लिम्बू म्यान अफ द म्याच घोषित भए । त्यसैगरी उपविजेता टिमका अस्तीत्व बुढाथोकी बेष्ट गोल किपर घोषित भए ।
खेलमा विजेता टिमका कुमार मगरले गोल्डेन बुट प्राप्त गर्न सफल भए ।

बिहीबारबाट सुरु भएको वडास्तरीय प्रतियोगितामा १० वटा टिमले भाग लिएका थिए । आयोजकले स्थानीय श्रोतबाटै प्रतियोगिता सम्पन्न गरेको जनाएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विरान फुटबल मैदानको स्तरउन्नतीको लागि नगरपालिका सकारात्मक रहेको बताए । उनले नगर स्तरीय खेल मैदानको ठेक्का सुरु भइसकेको बताउँदै सबै वडामा वडास्तरीय खेल मैदान निर्माणको लागि समेत नगरपालिका सकारात्मक भएर अघि बढेको बताए । आगामी वर्षको बजेटमा विरान खेल मैदानको स्तरउन्नतीको लागि बजेट सम्बोधन हुने उनको भनाइ थियो । उनले स्वास्थ्य जीवन जिउनको लागि सबै उमेर समूहले खेल खेल्न जरुरी रहेको बताए ।

कार्यक्रममा मेचीनगर – १४ का वडाध्यक्ष बाबुलाल सुब्बा, हातेमाले सामुदायिक बनका अध्यक्ष चन्द्र सिक्देल लगायतले बोलेका थिए ।
बाङ्गे पुल फुटबल क्लवका अध्यक्ष अर्जुन सिक्देलको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष सिक्देलले ग्रामीण भेगमा पनि फुटबल खेलको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए । कार्यक्रमको सञ्चालन समुदायिक वनका सचिव यामकान्त प्याकुरेलले गरेका थिए ।


प्रतिकृया दिनुहोस्