झापा, ६ माघ । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरे पनि व्यवहारत त्यो कार्यान्वयन हुन सकिरहेको छैन । यस पटकको प्रतिनिधि सभा निर्वाचनले समेत त्यो पुष्टि गरेको छ । झापा जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रमा मंगलबार ९० जना उम्मेदवारहरुले उम्मेदवारी मनोनय दर्ता गराउँदै गर्दा दुई स्वतन्त्र सहित १५ जना महिलाले मात्र चुनावी प्रतिष्पर्धामा होमिने मौका पाए । दलहरुले महिलालाई पाथमिकतामा नराख्दा ३३ प्रतिशत हुनु पर्ने यो संख्या १७ प्रतिशतमा खुम्चिएको छ ।
नेकपा एमालले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा यस पटक महिलालाई प्राथमिकतामा राखेन । जिल्लाका ५ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ मा भने सबैभन्दा बढी महिला उम्मेदवारी परेको छ । यहाँ नेपाली कांग्रेसकी सरिता प्रसाई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट धर्मशीला चापागाई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा रानामगर, श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती चुनावी मैदानमा छन् । यस क्षेत्रमा पूर्वसभामुख देवराज घिमिरे र महिला उम्मेदवारहरू बीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।
क्षेत्र नं. १ मा रास्वपाकी निशा डाँगी र जसपाकी रमा मेचेले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, क्षेत्र नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेमकिपाकी धर्मलक्ष्मी दुवाल र जसपाकी विनिता कुमारी राजवंशी चुनावी मैदानमा उत्रिएका छन् ।
क्षेत्र नं. ४ मा दुई महिला उम्मेदवार रहेका छन् । जसमा श्रम संस्कृति पार्टीकी अमृतादेवी राई र नेमकिपाकी तुलसी लक्ष्मी दुमरु हुन् ।
झापा क्षेत्र नं. ५ मा भने तीन महिला चुनावी प्रतिष्पर्धामा छन् । सो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहबीच पनि कडा प्रतिष्पर्धा हुने भएको छ । राष्ट्रिय राजनीतिमा यतिखेर क्षेत्र नम्बर ५ निक्कै चर्चामा छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँ नेपाली कांग्रेसबाट मन्धरा चिमिरिया तथा स्वतन्त्रबाट रञ्जिता गौतम र शोभा भण्डारीले मनोनयन दर्ता गराएका छन् । प्रमुख दलहरूले प्रत्यक्षतर्फ महिलालाई अझै पनि विश्वास नगरेको महिला अधिकारकर्मीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस्