मेचीनगर । मेचीनगर– २ का जनताले सोमबार प्रतिनिधि सभा उम्मेद्वार केशवराज पाण्डेलाई आफ्नो क्षेत्रका समस्याको पोको खोले, जनताका समस्या बुझ्न पुगेका पाण्डेलाई स्थानीयले सडक सञ्जालदेखि सिँचाई र हात्ती प्रमुख समस्याको रुपमा रहेको भन्दै त्यसको समाधानकोलागि आग्रह गरे ।
बाक्लो संख्यामा भेला भएका मेचीनगर २ स्थित नारायणगञ्जका मतदाताहरुले आफ्नो क्षेत्रको समस्या बुझ्ने र समस्या समाधानमा पहल गर्न सक्ने स्थानीय उम्मेदवारलाई भोट दिने भन्दै आफ्नो समस्या समाधाको लागि गम्भीर बन्न आग्रह गरेका थिए ।
उनीहरुले चुनावमा आएर भोटमाग्ने र निर्वाचित भएपछि जनताको समस्या भूल्ने परिपाटी अन्त्य गर्न समेत आग्रह गरे ।
सो अवसरमा उठेका जन गुनासालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका पाण्डेले आफू निर्वाचित भएपछि नीतिगत निर्णय गर्दै आफ्नो क्षेत्रलाई समृद्ध बनाउने अभियानमा आफ्नो सक्रियता हुने बताए । उनले भने, ‘म झुटको राजनीति गर्दिन, इमान्दार पूर्वक जनताको सेवामा लाग्ने छु, तपाईँहरुले दिएको मतको उच्च सम्मान हुने छ । आफूले बोलेका बाचा पुरा गरेर जनताको मुहारमा खुसी छर्ने छु ।’ आफूपनि गाउँमा हुर्कीएको युवा भएकोले गाउँको समस्यालाई आफूले नजिकबाट बुझेको उनको भनाइ थियो ।

अभियानकै क्रममा मेचीनगर २ स्थित मनकामना टोल पुगेका पाण्डेलाई सो क्षेत्रका जनताले समेत सडक निर्माण र हात्ती समस्या समाधानकोलागि पहल गर्न आग्रह गरेका थिए ।
सो अवसरमा प्रदेश सांसद गोपाल तामाङले आफू निर्वाचित भएपछि आफनो क्षेत्रमा भएका विकास निर्माणको बारेमा समेत सहभागिहरुलाई जानकारी गराएका थिए । उनले आफू र निवर्तमान संधीय सांसद विश्वप्रकासको पहलमा झापा १ मा थुप्रै विकास निर्माणको काम भइरहेको भन्दै यस क्षेत्रको समृद्धिको खाका कोर्न अव आसन्न फागुन २१ गते हुने निर्वाचनमा केशवराज पाण्डेलाई मत दिएर विजयी गराउन आग्रह समेत गरे ।
सो क्षेत्रमा समेत उम्मेदवार पाण्डेले जनभावनालाई बुझेर काम गर्ने विश्वास दिलाएका थिए ।

प्रतिकृया दिनुहोस्