मेचीनगर । पाहुना टोली भारतको जेपिएफसी बागडुगरा काँकरभिट्टामा जारी प्रथम महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न खेलमा भद्रपर झापा गोल्डकप महिला फुटबल टिमलाई २–० गोल अन्तरले पराजित गर्दै जेपिएफसी बागडुगरा अन्तिम चारमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हापमा दुवै टोलीले प्रतिष्पर्धात्मक खेल्दै गोलरहित टुङ्गाएका थिए । दोस्रो हापमा बागडुगराले खेललाई थप सशक्त बनाउदै भद्रपुर माथि हावि भयो । सशक्त खेलेको बागडुगराले खेलको ४१ र ४९ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गर्यो । जितका लागि बागडुगराको टिमको तर्फबाट गुरीया सिंह र मिरा मण्डलले एक एक गोल गरेका थिए ।

खेलमा उत्कृष्ट खेलेकी विजेता टिमकी क्याप्टेन राखी मुण्डा प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद दुई हजार प्राप्त गरिन् । झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरूङको प्रमुख आतिथ्य रहेको औपचारिक कार्यक्रममा झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत (सुन्दर), काँकरभिट्टा भेट्रान फुटबल क्लबका उपाध्यक्ष विक्रम राई, मेचीनगर ६ कि वडासदस्य सिमा विश्वकर्मालगायतको आतिथ्य रहेको थियो ।

आयोजक काँकरभिट्टा महिला फुटबल क्लबका अध्यक्ष कर्ण मगरका अनुसार भोलि शुक्रबारको पहिलो सेमिफाइनल खेल सांघा एफसी सिलुगढी र लटपन्चर एफसी दार्जिलिङ बिच हुनेछ ।
नेपाल र भारतका ६ टिम बिच प्रतिष्पर्धा रहेको प्रतियोगिता माघ २६ गते सम्पन्न हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद ८० हजारसहित ट्रफी प्राप्त गर्दा उपविजेता टिमले ४० हजारसहित ट्रफी प्राप्त गर्ने फुटबल मुल आयोजना समितिकी संयोजक विना तामाङले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्