किरात सिरीजङ्गा लिपिको सामाग्री अव पूर्वाञ्चल दैनिकमा प्रकाशित हुने

2020-11-13 मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकले अव किरात सिरीजङ्गा लिपिको सामग्री प्रकाशन गर्ने भएको छ ।
किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापा र विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकको सहकार्यमा किरात सिरीजङ्गा लिपिको सामग्री प्रकाशन गर्ने शुक्रबार सम्झौता भएसंगै उक्त सामग्री प्रकाशन गरिने भएको हो ।
बिर्तामोडस्थित पूर्वाञ्चल दैनिकको कार्यालयमा शुक्रबार पूर्वाञ्चल दैनिक को तर्फबाट प्रधानसम्पादक एकराज गिरी र किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापाको तर्फबाट कार्यवाहक अध्यक्ष सेसेहाङ् फियाकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आगामी मंसीर १ गतेदेखि लागू हुनेगरी महिनाको दुई पटक १ र १५ गते किरात सिरीजङ्गा लिपिका सामग्रीहरु प्रकाशन गरिने जनाइएको छ । यो सम्झौता न्युनतम् दुई वर्षसम्म कायम रहने र किरात सिरीजङ्गा लिपिको सामग्री प्रकाशनका लागि सेसेहाङ फियाकलाई सम्पादक र सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ्लाई सह–सम्पादकको जिम्मेवारी दिइएको जनाइएको छ ।
पूर्वाञ्चल दैनिकले विभिन्न भाषा ,संस्कृति र साहित्यको संरक्षण, सवर्द्धन र विकास गर्दै जाने उद्धेश्यले किरात सिरीजङ्गा लिपिको सामग्री प्रकाशन गरिने पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीले जानकारी दिए । पूर्वाञ्चल दैनिक प्रकाशनको २६ वर्ष लागेसंगै अव अन्य समुदायको भाषामा पनि सामग्री प्रकाशन गर्दै जाने उनले जानकारी दिए ।
किरात याक्थुङ् चुम्लुङ्, जिल्ला समिति झापाका कार्यवाहक अध्यक्ष सेसेहाङ् फियाकले किरात लिम्बू भाषा विकास, संरक्षण, सवर्द्धन र प्रवर्द्धन गर्दै जाने चुम्लुङको मूलभूत उद्देश्यलाई कार्यान्वयन गर्दै जानको निमित्त दुईपक्षबीच सम्झौता भएकोे बताए ।
पत्रिकामा किरात सिरीजङ्गा लिपिको माध्यमबाट समाचार, कथा, कविता, गीत, नाटक, उपन्यास, गजल, हाइकु लगायत विभिन्न आलेखहरू प्रकाशन हुने उनले जानकारी दिए ।
पूर्वाञ्चल दैनिक पत्रिकाको माध्यमद्वारा किरात सिरीजङगा लिपिमा नै समाचार पढ्न पाउँदा झापावासी लिम्बु समुदायहरु उत्साहित हुने सञ्चारकर्मी डिल्लीश्वर मुसाहाङ्ले बताए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु