मेचीनगर ।कोरोना भाइरसको त्रास बढदै गएपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वित्तीय कारोबार गर्न सहजताका लागि एटिएम सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।
सहकारी संस्थाले निक्षेप कारोबारका लागि पूर्वी नेपालमा पहिलो पटक एटिएम सेवा भित्राउन लागेको हो ।
एनएमसीका सदस्यहरुले २०७७ को मंसिर महिनाभित्रै एटिएम सेवा पाउने गरी द्रुत गतिमा काम भइरहेको बैंकिङ व्यवसाय समितिका प्रशासनिक प्रमुख मनिष कोइरालाले जानकारी दिएका छन् ।
उनका अनुसार चालू आर्थिक वर्षमा १० वटा एटिएम सञ्चालन गर्ने संस्थाको योजना अनुसार ५ वटाको टर्मिनल निर्माण भइसकेको छ । संस्थाको आफ्नै भवन रहेका स्थानहरुमा पहिलोपटक एटिएम टर्मिनल निर्माण भइरहेको हो ।
काँकरभिट्टा, चन्द्रगढी, शनिश्चरे र दमकमा एटिएम टर्मिनल निर्माण सम्पन्न गरी रंग रोगन तथा मेसिन सेटअप भइरहेका छन् भने चारआलीमा कर्मचारीस्तरमा एटिएम कार्ड वितरण गरी परीक्षण सुरु गरिएको प्रशासनिक प्रमुख कोइरालाले बताएका छन् ।
यसैगरी बिर्तामोडमा सञ्चालन गर्न लागिएको सहकारी पसल रहने भवनमा एटिएम टर्मिनल निर्माण गरिनेछ भने यसै आर्थिक वर्षमा अन्य ५ स्थानमा सेवा विस्तार गर्ने संस्थाको लक्ष्य रहेको छ ।
यसैबीच, कोरोनाको कहरले डामाडोल बनेका वित्तीय व्यवसायमा सुधारको संकेत देखिएको प्रशासनिक प्रमुख कोइरालाले जनाएको छन् । एनएमसीमा ९२ हजार जना शेयर सदस्यले वित्तीय कारोबार गर्दा तिहार विदाको अघिल्लो दिन कर्जा लगानी र निक्षेप बराबरको अवस्थामा रहेको हो ।
संस्थामा तरलताको स्थिति मजवुत रहेकाले कर्जा माग्न आउने जो कोही सदस्यले पनि रित्तो हात फर्कनुपर्ने अवस्था नरहेको कोइरालाको भनाई छ ।
2020-11-16 मा प्रकाशित
प्रतिकृया दिनुहोस्