चारआली । धाइजन–चारआली महिला च्यालेन्ज कप–२०८३ को उपाधिका लागि आयोजक धाइजन–चारआली फुटबल क्लब र हातखोला फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा जनता सेभेन फुटबल क्लब इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै हातखोला फाइनलमा प्रवेश गरेको हो । अब हातखोलाले आगामी जेठ ३ गते आयोजक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत भएको दोस्रो सेमिफाइनल खेल निकै रोमाञ्चक बनेको थियो । खेलको दोस्रो हाफमा जनता सेभेन फुटबल क्लबकी जर्सी नम्बर १० की खेलाडी रेखा विष्टले गरेको गोललाई रेफ्रीले अफसाइड घोषणा गरेपछि खेल करिब १५ मिनेट अवरुद्ध बनेको थियो । जनता सेभेनका खेलाडी तथा समर्थकहरूले उक्त गोल अफसाइड नभएको भन्दै निर्णय पुनरावलोकन गर्न माग गरेका थिए । त्यसपछि निर्णायक टोलीले १५ मिनेट अतिरिक्त समय थप गर्दै खेल पुनः सञ्चालन गरेको थियो ।
यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक धाइजन–चारआली फुटबल क्लबले बुद्धशान्ति फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
मेचीनगर–१२ स्थित कालिका खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव भीम कार्कीले जानकारी दिए ।
जेठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अष्ट्रेलियास्थित दावा एण्ड लामा परिवार मुख्य प्रायोजक रहेको छ भने हङकङ निवासी मोहन इजाम सह–प्रायोजकका रूपमा रहेका छन् । जया ब्रान्ड किट पार्टनर तथा ‘गेम अफ नेपाल’ मिडिया पार्टनर रहेको प्रतियोगिता महिला फुटबलको विकास र खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव दिलाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
दीपक लामाको अध्यक्षता तथा मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तिम सेमिफाइनल खेलमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा, मेचीनगर–१२ का वडाध्यक्ष मधुसूदन निरौला, मेचीनगर–१४ का सदस्य लाल मिया, आर्थिक सहयोगी मोहन इजामलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्