मेचीनगर । मेचीनगर–८ वडा कार्यालय खेलकुद समितिको आयोजना तथा इटाभट्टा फुटबल क्लबको सहकार्यमा शनिबारदेखि प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।
मेचीनगर–८ स्थित शान्ति वन वाटिकाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मेचीनगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभएको थियो। उद्घाटन खेललाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले मेचीनगरपालिकाले पछिल्लो समय मानव संसाधन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
‘भौतिक पूर्वाधार मात्रै विकास होइन,’ उहाँले भन्नुभयो, ‘हामीले विकासलाई केवल भौतिक पूर्वाधारसँग जोड्ने गरेका छौँ। त्यो किसिमको विकास दिगो लक्ष्य प्राप्तिका लागि पर्याप्त हुँदैन, त्यो त क्षणिक आनन्द मात्र हो। दिगो विकास भनेको मानव संसाधनको विकास हो।’ उहाँले मानिसको स्वास्थ्य, रोजगारी, शिक्षा र खेलकुदलगायतका विषय मानव संसाधन विकाससँग जोडिने भएकाले मानिसको सोच र दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको फुटबल खेललाई मेचीनगरपालिकाले प्राथमिकतामा राख्दै सबै वडामा फुटबल तथा अन्य खेलकुद कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रमका सभापति तथा मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमलाले वडाले जिल्ला स्तरीय खेल आयोजना गर्ने लक्ष्य लिएको भए पनि विविध कारणले सम्भव नभएपछि प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गरी युवाहरुलाई खेल क्षेत्रमा प्रोत्साहित गरिएको बताउनुभयो। उद्घाटन खेलमा मेचीनगर–११ र १२ तथा मेचीनगर–३ र १३ बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा वडा नं. १२ र १३ विजयी भए।
वडा नं. ११ र १२ बीच भएको पहिलो खेलमा वडा नं. १२ ले ११ लाई १–० गोलअन्तरले पराजित गर्यो। दोस्रो खेल वडा नं. ३ र १३ बीच भएको थियो। उक्त खेल ट्राइब्रेकरमा पुगेको थियो, जसमा वडा नं. १३ ले वडा नं. ३ लाई १–० गोलअन्तरले पराजित गर्दै विजय हासिल गर्यो।

प्रतियोगितामा वडा नं. ३ का अध्यक्ष हर्क बस्नेत, मेचीनगरपालिका भौतिक पूर्वाधार शाखाका संयोजक चित्रकुमार धिमाल, कार्यपालिका सदस्य कविता मिजार, मेचीनगर–३ का वडा सदस्य खेम सुब्बा, नेपाली कांग्रेस मेचीनगर–८ का वडा उपसभापति हेमप्रसाद कोइराला, नेकपा एमाले वडा नं. ८ का अध्यक्ष मिलन विश्वकर्मालगायत जिल्ला फुटबल संघ झापाका महासचिव सुन्दर बस्नेतको आतिथ्यता रहेको थियो। मेचीनगर–८ का वडा सदस्य तथा खेलकुद विकास समितिका अध्यक्ष विष्णु भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडा सदस्य कुन्दन निरौलाले गर्नुभएको थियो। प्रतियोगितामा मेचीनगर क्षेत्रका १५ वटा टिमको सहभागिता रहने तथा प्रतियोगिता जेठ १७ गतेसम्म सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्