डम्बर बराल
मेचीनगर, मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगरका सबै नागरिकलाई अझै शुद्ध खानेपानीको पहुँचमा ल्याउन नसकिएको बताएका छन्। धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भरपर्दो पानीको स्रोत अभावका कारण कतिपय नागरिक शुद्ध खानेपानीबाट वञ्चित रहेको उल्लेख गरे। ‘पानीको भरपर्दो स्रोतको अभावमा केही नगरवासी अझै पनि शुद्ध खानेपानीको पहुँचबाट टाढा छन्,’ नगरप्रमुख बुढाथोकीले भने, ‘हामी भरपर्दो तथा वैकल्पिक स्रोतको खोजीमा जुटेका छौं।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले खानेपानी व्यवस्थापनमा उपभोक्ता समितिहरूले अग्रसर भूमिका निर्वाह गर्नुपर्ने बताए। खानेपानी संस्थाहरूलाई प्राधिकरणमा लैजाने विगतको योजनाबारे चर्चा गर्दै उनले प्राधिकरण गठन भएको भए नागरिकले थप सास्ती व्यहोर्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरे। उनले नगरपालिकाले आफ्ना समग्र जिम्मेवारी सम्हाल्ने कि खानेपानी व्यवस्थापनमै केन्द्रित हुने भन्ने प्रश्न पनि उठाए।
मेचीनगरमा हाल चारआली, धुलाबारी, काँकरभिट्टा र बाहुनडाँगीमा चारवटा ठूला खानेपानी संस्था सञ्चालनमा रहेको उल्लेख गर्दै नगरप्रमुख बुढाथोकीले यी संस्थाहरूले नगरका सम्पूर्ण नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने दायित्व वहन गर्नुपर्ने बताए। फरक प्रसंगमा उनले धुलाबारी बजार क्षेत्रमा स्थानीयको अपेक्षित सहयोग नपाउँदा सडक निर्माण कार्य प्रभावित भएको गुनासो समेत गरे।
साधारणसभामा मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नगरसभापति सन्तोष राजवंशी, नेपाली कांग्रेसका नगरसभापति सुवेश कुमार पनेरु, नेकपा एमालेका नगर अध्यक्ष राजु कार्की, संस्थापक अध्यक्ष राम कट्टेल, पूर्वअध्यक्ष इन्द्रबहादुर बुढाथोकी, राप्रपाका विशालकृष्ण बाँस्तोला, श्रमसंस्कृति पार्टीका अम्बर खम्बूलगायत वक्ताहरूले धुलाबारी खानेपानी संस्थाले उपभोक्ताको हितमा प्रभावकारी काम गरिरहेको भन्दै प्रशंसा गरेका थिए।
सो अवसरमा संस्थाले पछिल्ला तीन वर्षमा सम्पन्न गरेका कार्यक्रम तथा उपलब्धिहरू वृत्तचित्रमार्फत प्रस्तुत गरेको थियो। साथै संस्थापक अध्यक्ष तथा सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा संस्थापक अध्यक्ष राम कट्टेल, सचिव मणिकुमार उप्रेती तथा सदस्यहरू रोशनलाल अग्रवाल, गणेशविक्रम नेम्बाङ, गोविन्द पराजुली, कर्णबहादुर श्रेष्ठ, दिनेश निरौला र सरस्वती सिटौला रहेका छन्। त्यसैगरी स्वर्गीय दानबहादुर थापा, दिलबहादुर खड्का, दुर्गादेवी शर्मा र कुमुदचन्द्र झालाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्व तथा उनका परिवारलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो।

धुलाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै निन्दा पश्चिम क्षेत्रका उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ संस्था तीव्र गतिमा अघि बढिरहेको बताए। बढ्दो जनघनत्व र तीव्र सहरीकरणका कारण नयाँ निजी धारा जडान गर्ने उपभोक्ताको संख्या निरन्तर बढिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार २०५० सालमा एसियाली विकास बैंक (एडीबी) र जाइका नेपालको करिब ४५ करोड रुपैयाँ अनुदान सहयोगमा सुरु गरिएको खानेपानी विस्तार अभियानअन्तर्गत हाल मेचीनगर–९, १०, ११, १४ र १५ नम्बर वडाका ६ हजार ५७३ उपभोक्तालाई शुद्ध खानेपानी वितरण भइरहेको छ।
कार्यक्रममा उपाध्यक्ष हिमालय आङ्देम्बेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव उमेश सुवेदीले गरेका थिए। साधारणसभा धुलाबारीस्थित टाउन हलमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्