चारआलीमा जेसीजको महाकुम्भ हुँदै

2026-08-03 मा प्रकाशित

चारआली । झापाको चारआली आगामी असोज ९ र १० गते दुई दिन राष्ट्रियस्तरको युवा नेतृत्वको केन्द्र बन्ने भएको छ । नेपाल जेसीज क्षेत्र ‘क’को एरिया ‘ए’ सम्मेलन–२०२६ मा देशका विभिन्न जिल्लाबाट एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएपछि आयोजकले सम्मेलनलाई चारआलीवासीको साझा उत्सवका रूपमा सफल बनाउन स्थानीयलाई अतिथिसत्कारमा जुट्न आह्वान गरेको छ । सम्मेलनका अवसरमा घर–आँगन सजाउन, अतिथिलाई मुस्कानसहित स्वागत गर्न तथा आवश्यक परे आफ्नै घरको शौचालयसमेत प्रयोग गर्न दिन आयोजकले स्थानीयसँग आग्रह गरेको छ ।
चारआली जेसीजको आयोजनामा हुने सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका ४५ भन्दा बढी शाखाका युवा, उद्यमी, व्यवसायी तथा नेतृत्व तहका व्यक्तिहरू सहभागी हुनेछन् । सम्मेलनले नेतृत्व विकास, उद्यमशीलता, डिजिटल प्रविधि र सामाजिक उत्तरदायित्वका विषयमा केन्द्रित बहससँगै झापाको पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।
सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशसभा सदस्य सबिना बजगाईले युवाको नेतृत्व विकास र सामाजिक रूपान्तरणमा नेपाल जेसीजको भूमिका महत्वपूर्ण रहेको बताइन् । यस्ता सम्मेलनले युवालाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासतर्फ प्रेरित गर्ने उनको भनाइ थियो ।
नेपाल जेसीजका केन्द्रीय उपाध्यक्ष दिपेश राजबंशीले सम्मेलनले क्षेत्रीय शाखाबीच सहकार्य, नेतृत्व विकास र नवप्रवर्तनलाई थप मजबुत बनाउने बताए । सम्मेलनबाट युवाहरूबीच अनुभव आदान–प्रदान, ज्ञान हस्तान्तरण र राष्ट्रियस्तरको सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।
त्यस्तै चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णु रिमाल, धुलाबारी जेसीजका पूर्व अध्यक्ष विपुल श्रेष्ठ तथा मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुव कनालले सम्मेलन सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको धारणा राखे ।
सम्मेलन निर्देशक जेसी उत्तमप्रसाद पकुवालले पत्रकार सम्मेलनमा प्रेस नोट वाचन गर्दै सम्मेलनका कार्यक्रम, उद्देश्य र तयारीबारे जानकारी दिएका थिए । उनका अनुसार नेपाल जेसीजको मूलमन्त्रलाई आत्मसात् गर्दै सम्मेलनमा अन्तरशाखा वक्तृत्वकला प्रतियोगिता, ‘प्रोजेक्ट सङ्कल्प–२०२६’ विषयक थिम सेमिनार, जेनेरेटिभ एआई फर डिजिटल मार्केटिङ, वित्तीय साक्षरता तथा लगानी व्यवस्थापन सम्बन्धी प्रशिक्षण तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन् ।
सम्मेलनका लागि करिब ४० लाख रुपैयाँ बराबरको बजेट तय गरिएको छ । दर्ता शुल्क, नेपाल जेसीज, प्रदेश तथा स्थानीय सरकार र विभिन्न प्रायोजक तथा सहयोगी संस्थाको सहयोगबाट बजेट व्यवस्थापन गरिने आयोजकले जनाएको छ । सम्मेलन सम्पन्न भएको १५ दिनभित्र आय–व्यय सार्वजनिक गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
पत्रकार सम्मेलनका सभापति तथा चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाले सम्मेलनलाई चारआलीको प्रतिष्ठासँग जोडिएको कार्यक्रम भएको उल्लेख गर्दै स्थानीयवासीलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे । उनले देशका विभिन्न जिल्लाबाट आउने अतिथिलाई आफ्नै पाहुनाका रूपमा स्वागत गर्न, घर–आँगन सजाउन, सम्मेलनको साँझ दीप प्रज्वलन गर्न तथा आवश्यक परे आफ्नै घरको शौचालयसमेत प्रयोग गर्न दिन स्थानीयसँग अनुरोध गरे ।
“चारआलीमा पहिलो पटक एकैसाथ करिब एक हजार अतिथि आउँदै हुनुहुन्छ । उहाँहरूको आत्मीय स्वागत गर्न सक्यौं भने चारआलीको आतिथ्यता देशभर चिनिनेछ,“ उनले भने ।
निरौलाले सम्मेलन केवल जेसीजको कार्यक्रम मात्र नभई चारआलीको पर्यटन, व्यापार र आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्ने अवसरसमेत भएको बताए । देशभरबाट आउने करिब एक हजार प्रतिनिधिको आगमनले होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने उनको विश्वास छ ।
चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन तथा सम्मेलन सचिवालय उद्घाटन कार्यक्रमको सञ्चालन बिरु वेघाले गरेका थिए भने उत्सव भट्टराईले जेसीज आस्था वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु