मेचीनगर । मेचीनगरपालिकामा यही असोज ५ गतेदेखि जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ। नगर क्षेत्रमा जेई संक्रमणको जोखिम बढ्दै गएपछि ३० वर्षमाथिका ६५ हजार ५२५ जनालाई खोप लगाउने तयारी गरिएको मेचीनगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
मेचीनगरमा चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म ६ जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ। अघिल्ला दुई आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा पनि मेचीनगरमा जेई संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य शाखाको तथ्यांक छ।
मेचीनगरलाई जेई संक्रमणको उच्च जोखिम क्षेत्रका रूपमा लिइएपछि स्वास्थ्य शाखाले ३० वर्षमाथिका सबै नागरिकलाई लक्षित गरी आम खोप अभियान सञ्चालन गर्न लागेको हो।
खोप अभियान नगरपालिकाका सबै १५ वटै वडामा सञ्चालन हुने जनाइएको छ। अभियानअन्तर्गत लक्षित समूहका नागरिकलाई जेईविरुद्धको खोप लगाइनेछ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले खोप अभियानमा सहभागी भई जेईबाट सुरक्षित रहन ३० वर्षमाथिका सबै नागरिकलाई आग्रह गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्