मेचीनगर । मेचीनगर–४ वडा कार्यालयको आयोजना तथा बरुणाभ क्लिनिक काँकरभिट्टाको प्राविधिक सहयोगमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ११८ जनाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। शिविरमा ६७ महिला र ५१ पुरुषले स्वास्थ्य परीक्षण गराएका वडा कार्यालयले जनाएको छ।
वडावासीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताए। ग्रामीण क्षेत्र भएकाले वडामा विपन्न नागरिकको संख्या धेरै रहेको र आर्थिक अभावका कारण कतिपयले उपचार गराउन नसकेको उनले बताए। ‘आर्थिक अभावका कारण कतिपय नागरिक उपचारबाट वञ्चित हुनुभएको छ,’ उनले भने, ‘त्यस्ता नागरिकलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ।’
बरुणाभ क्लिनिकका सञ्चालक तथा रेडियोलोजिस्ट डा. किशोरकुमार पौडेलको नेतृत्वमा सञ्चालन भएको शिविरमा फिजिसियन डा. एन्जिला श्रेष्ठ (एमबीबीएस, एमडी), सर्जन डा. हेमनारायण अमात्य (एमबीबीएस, एमएस), नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विदुर अधिकारी (एमबीबीएस, एमएस–ईएनटी) र रेडियोलोजिस्ट डा. किशोरकुमार पौडेल (एमबीबीएस, एमडी) लगायतले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए।
शिविरमा ६० जनाको भिडियो एक्सरे गरिएको थियो। भिडियो एक्सरेका क्रममा १० जनामा गम्भीर स्वास्थ्य समस्या देखिएको र उनीहरूलाई तत्काल शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको डा. पौडेलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्