मेचीनगरबाट सुरु भयो जेईविरुद्धको खोप अभियान

2026-09-21 मा प्रकाशित

मेचीनगर, ५ असोज । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सोमबारदेखि सुरु भएको छ। जिल्लामा पहिलो चरणमा मेचीनगरबाट खोप अभियान सुरु गरिएको हो। काँकरभिट्टा स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले खोप लगाएर अभियानको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा राज्यमन्त्री गौतमसहित झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दास, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र वडा नम्बर ६ का अध्यक्ष ललितबहादुर तामाङलगायतले खोप लगाएका थिए। कार्यक्रममा राज्यमन्त्री गौतम, जिसस प्रमुख बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख दास र नगरप्रमुख बुढाथोकीले जेईबाट बच्न समयमै खोप लगाउन सबैलाई आग्रह गरे। कार्यक्रमको सहजीकरण मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन्।

सोमबारदेखि सुरु भएको खोप अभियान असोज १५ गतेसम्म सञ्चालन हुनेछ। झापामा ३० वर्षमाथिका करिब पाँच लाख जनालाई जेईविरुद्धको खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। मेचीनगरमा भने ६५ हजार ५२५ जनालाई खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ। जेई संक्रमणका कारण झापामा हालसम्म छ जनाको मृत्यु भइसकेको छ। मेचीनगरमा चालु वर्ष मात्रै दुई जनाको मृत्यु भएको छ भने पछिल्लो तीन वर्षमा जेई संक्रमणबाट पाँच जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु