लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध हुलाक कार्यालयमा महासंघले बुझायो ज्ञापन

2026-09-21 मा प्रकाशित

झापा । लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमलाई सरकारले उपलब्ध गराउँदै आएको रकम करिब ५० प्रतिशत घटाइएको भन्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघ केन्द्रले सरकारको निर्णय नसच्चिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघले पहिलो चरणमा विज्ञापन बोर्ड र देशभरका जिल्ला हुलाक कार्यालयलाई पत्रिकाको बिल नबुझ्न सचेत गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम घोषणा गरेको थियो। सोही कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघ झापाले सोमबार जिल्ला हुलाक कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ झापाका अध्यक्ष एराज गिरी, पूर्वअध्यक्ष माधव विद्रोही, उपाध्यक्ष सुब्रत न्यौपाने, विनिशा शर्मा, पूर्वउपाध्यक्ष सुशीला संग्रौला, सचिव प्रदीप परियारलगायत विभिन्न पत्रिकाका सञ्चालक तथा सम्पादकहरूको उपस्थिति थियो।

महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेले ज्ञापनपत्र वाचन गरेका थिए। त्यसपछि अध्यक्ष गिरी र पूर्वअध्यक्ष विद्रोहीले जिल्ला हुलाक कार्यालयका प्रमुखलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए।

ज्ञापनपत्र बुझाएपछि महासंघका पूर्वअध्यक्ष विद्रोहीले सरकारले सञ्चारमाध्यमप्रति दमनकारी नीति लिएको आरोप लगाउँदै तत्काल कानुन संशोधन गरी सञ्चारमैत्री वातावरण बनाउन आग्रह गरे।

महासंघ झापाका अध्यक्ष गिरीले संकटमा रहेका छापा माध्यमलाई थप समस्यामा पार्ने गरी सरकारले कानुन संशोधन गरेर लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै आलोचना गरे। उनले सरकारले ल्याएको बजेट र विद्यमान कानुनी व्यवस्थाबीच विरोधाभास देखिएको दाबी गर्दै त्यसलाई तत्काल संशोधन गर्नुपर्ने बताए।

सरकारको निर्णय नसच्चिएसम्म आन्दोलनका कार्यक्रम नरोकिने बताउँदै अध्यक्ष गिरीले हुलाक कार्यालयले महासंघको मागलाई बेवास्ता गरे थप कडा आन्दोलनमा जाने चेतावनी दिए। उनले आवश्यक परे जिल्ला हुलाक कार्यालयमा तालाबन्दीसमेत गर्ने बताए।

कार्यक्रमको सहजीकरण महासंघ झापाका सचिव प्रदीप परियारले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु