ताप्लेजुङ,९ असोज । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३, दोभान बजारमा बिहीबार भएको भीषण आगलागीबाट प्रभावित १४ परिवारलाई श्री सत्य साई सेवा संगठन नेपालले शुक्रबार तत्काल राहत सामग्री उपलब्ध गराएको छ। बिहीबार असोज ८ गते अचानक भएको आगलागीमा १० वटा घर पूर्ण रूपमा जलेर ध्वस्त भएका थिए। ती घरमा १४ परिवार बसोबास गर्दै आएका थिए।

आगलागीबाट घरसहित दैनिक जीवनयापनका आवश्यक सामग्री नष्ट भएपछि पीडित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले संगठनले राहत सेवा सञ्चालन गरेको हो। संगठनले पीडित प्रत्येक परिवारलाई ग्याससहितको एक–एक थान सिलिन्डर सेट, थाल, कचौरा, गिलास, प्रेसर कुकर, कम्बल, म्याट (पिफोम) लगायतका सामग्री वितरण गरेको थियो। जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख यज्ञनिधि पौड्यालको संयोजकत्वमा सम्पन्न राहत वितरण कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश दाहाल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमसहित संघका पदाधिकारी, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युगविरहाङ लिम्बू (डम्बर), वडा नं. ३ का अध्यक्ष गजेन्द्र नाल्गो लगायत जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय समाजसेवी तथा ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहेको थियो।

राहत वितरणका क्रममा स्थानीयवासीले विपत्तिको समयमा प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए। उनीहरूले आगलागीबाट सबै गुमाएको अवस्थामा तत्काल आवश्यक सामग्रीसहित सहयोग प्राप्त हुँदा ठूलो राहत महसुस भएको बताए। राहत सामग्री ग्रहण गर्ने क्रममा दुईजना महिला भावुक हुँदै आँखाभरि खुशीका आँसु पारेर “हाम्रो दुःख देखेर भगवान्ले राहत पठाउनुभयो। अब आज बेलुकीदेखि खाना पकाएर खान पाउने भयौँ” भन्दै खुशी व्यक्त गरेका थिए। त्यस्तै, केही स्थानीयवासीले श्री सत्य साई सेवा संगठनको नामसमेत आफूहरूले पहिलो पटक सुनेको भए पनि विपत्तिको समयमा संस्थाले देखाएको मानवीय सहयोगले आफूहरूको मन छोएको बताएका थिए। स्थानीयका अनुसार पहिलो पटक कुनै संस्थाले यति छिटो र व्यवस्थित रूपमा आगलागीपीडित परिवारलाई आवश्यक सामग्रीसहित सहयोग गरेको हो। आगलागीबाट विस्थापित परिवारका लागि राहत सामग्री उपलब्ध गराउँदै श्री सत्य साई सेवा संगठन नेपालले विपत्तिको समयमा पीडितको दुःखमा साथ दिनु नै मानवीय सेवाको मूल भावना भएको कुरा यस संगठनका राष्ट्रिय सेवा संयाेजक उत्तम थापाले बताउनुभयाे।
यसअघि गत महिना भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पनि श्री सत्य साई सेवा संगठन नेपालले विपद्को समयमा तत्काल राहत तथा मानवीय सेवा पुर्याएको थियो। संगठनले नुवाकोट र रसुवा जिल्लाका विभिन्न राहत तथा होल्डिङ सेन्टरमा पुगेर बाढीपीडित परिवारलाई खाद्यान्न, कम्बल, म्याट्रेस, बेडसिट, तौलिया, भाँडाकुँडा, सरसफाइका सामग्री, सेनेटरी प्याड, कपडा लगायतका अत्यावश्यक सामग्री वितरण गरेको थियो। नुवाकोटको विदुर नगरपालिका–२ स्थित श्री विदुर पितृ मोक्ष्य धाम कल्याणकारी संस्था, विदुर–१० गेर्खुटारस्थित श्री सुन्दरी क्योरिनी माध्यमिक विद्यालय, विदुरको नुवाकोट दरबारस्थित चौतारा होल्डिङ सेन्टर तथा बेत्रावतीलगायतका स्थानमा सेवा पुर्याइएको थियो। त्यसैगरी रसुवाको कालिकास्थान गाउँपालिका–१, राम्चे बजारमा समेत बाढी प्रभावित परिवारलाई कम्बल, भाँडाकुँडा, तौलिया, बेडसिट, सेनेटरी प्याड तथा सरसफाइका सामग्रीसहित राहत वितरण गरिएको संगठनको विवरणमा उल्लेख छ। विपद् जहाँसुकै आइपरे पनि पीडितको आवश्यकताअनुसार तत्काल सेवामा पुग्ने उद्देश्यसहित संगठनले निरन्तर मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको जानकारी श्री सत्य साई केन्द्रीय ट्रष्टका सदस्य कविन्द्र श्रेष्ठले जानकारी दिनभयाे। “Love All, Serve All” तथा “सेवा नै धर्म हो” भन्ने भावनाका साथ संगठनले मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

प्रतिकृया दिनुहोस्