झापा–१ कांग्रेस क्षेत्रीय सभापतिमा बुढाथोकी र पनेरुबीच प्रतिस्पर्धा हुँदै 

2026-09-26 मा प्रकाशित

धुलाबारी । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिका लागि इन्द्रबहादुर बुढाथोकी र सुदय पनेरुले उम्मेदवारी दर्ता गराएका छन्। धुलाबारीस्थित क्षेत्रीय पार्टी कार्यालयमा शनिबार भएको उम्मेदवारी दर्तासँगै दुवै नेता क्षेत्रीय सभापतिको प्रतिस्पर्धामा उत्रिएका हुन्।

बुढाथोकीले पुनः क्षेत्रीय सभापतिमा उम्मेदवारी दिँदै आगामी पाँच वर्षका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। उनी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मानिकट मानिन्छन्। कांग्रेसलाई थप चलायमान बनाउन आफूले उम्मेदवारी दिएको बुढाथोकीले बताएका छन्।

पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उनले परिवर्तित परिस्थितिमा कांग्रेसलाई एकजुट बनाउन आफूले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको दाबी गरे। ‘कांग्रेस पार्टीलाई अझ सक्रिय बनाउनु छ,’ उनले भने, ‘पार्टी लहडले होइन, विचार र सिद्धान्तले चलाउनका निम्ति मेरो उम्मेदवारी हो।’

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय बुढाथोकीलाई चुनौती दिँदै पनेरुले पनि क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दिएका हुन्। पनेरुले यसअघि नेपाली कांग्रेस मेचीनगरको नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले मेचीनगर–१० को वडाध्यक्षमा विजयी हुँदै जनप्रतिनिधिका रूपमा समेत काम गरेका थिए।

युवा तथा पाका नेता–कार्यकर्ताबीच आफू लोकप्रिय रहेको दाबी गर्दै पनेरुले गुट–उपगुटभन्दा माथि उठेर उम्मेदवारी दिएको बताए। विगतमा नगरको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उनले अब क्षेत्रीय तहमा बसेर कांग्रेसलाई थप बलियो बनाउने उद्देश्य रहेको बताए।

‘सबैजना अब अगाडि बढ्नुपर्छ,’ आफ्नो प्रतिस्पर्धीप्रति संकेत गर्दै पनेरुले भने, ‘हिजो क्षेत्रको नेतृत्वमा बसेकाहरू माथि जाने हो, युवाहरूलाई ठाउँ दिँदै जानुपर्छ।’

पनेरुले पार्टी कसैको पेवा नभएको बताउँदै सबैले समान अवसर पाउनुपर्ने धारणा राखे। आफू ‘चारतारे कांग्रेस’को पक्षमा रहेको र विश्वप्रकाश शर्मा तथा गगन थापाको विचारसँग आफू नजिक रहेको उनको भनाइ छ। उनले आफ्नो जित सुनिश्चित रहेको दाबीसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु