आचार्यको मृगौला प्रत्यारोपणका लागि रकम अभाव, सहयोग गर्न अभियाना संयोजक खड्काको आग्रह

2020-11-23 मा प्रकाशित

मेचीनगर, ८ मंसिर।मृगौला रोगबाट पिडित मेचीनगर वडा नं। १० धुलाबारीका नवराज आचार्यको मृगौला प्रत्यारोपणका लागि खर्च अभाव भएको छ । ३९ बर्षिय आचार्यको दुवै मृगौलाले काम नगरे पछि चिकित्सकले तत्काल प्रत्यारोपण गर्न सल्लाहा दिएको तर प्रत्यारोपणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले त्यसको ब्यवस्थापन गर्न परिवारलाई समस्या भएको नवराजका दाजु कृष्ण आचार्यले बताउनु भयो ।
नवराजको जीवन रक्षाका लागि मृगौला प्रत्यारोपण गराउने खर्च जुटाउन नवराज आचार्य बचाउ अभियान नै सञ्चालन गरी स्थानीय युवाहरुले रकम संकलन शुरु गरिएको अभियाना संयोजक प्रकाश खड्काले बताउनु भयो । संयोजक खड्काका अनुसार मृगौला प्रत्यारोपणका लागि २५ भन्दा बढी रकम लाग्ने चिकित्सकहरुले बताएकाले पनि तत्काल रकम संकलनलाई तीब्रता दिएको हो ।
नेपाल प्रहरीमा कार्यरत सामान्य आर्थिक अवस्था भएका आचार्यले अचानक खुट्टा सुनिए पछि स्वास्थ्य परिक्षण गराउँदा मृगौलामा खराबी देखिएको र थप उपचारका लागि काठमाण्डौमा भदौको दोस्रो साता बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा ऋषि काफ्लेसंग जाँच गराउँदा दुवै मृगौलाले काम गर्न छोडेको र जतिसक्दो चाँडो प्रत्यारोपण गर्ने सल्लाहा दिएको पिडितका भाञ्जा समेत रहनु भएका नेकपाका युवा नेता बिपि भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार तत्काल हप्तामा दुई पटक डायल्यासिस गराइरहेको र छिटो भन्दा छिटो प्रत्यारोपण गराउनु पर्ने अवस्था रहेको छ ।
प्रत्यारोपणका लागि पिडितका भाईले मृगौला दान गर्ने समेत पारिवारिक सल्लाहा भइसकेको र मृगौला दिने ब्यक्तिको समेत पनि परिक्षण गराउन काठमाण्डौ नै लानु पर्ने भएकाले पनि रकम अभाव भएको नवराज आचार्य बचाउ अभियानका सचिव भुमि पौडेलले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु