महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु

2020-12-03 मा प्रकाशित

काँकरभिट्टा, १८ मंसिर ÷ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा झापाको मेचीनगर नगरपालिकामा विहीबारबाट महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित शुरु अभियानका अवसरमा नगरपालिका महिला विकास शाखाले आयोजना गरेको कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको अध्यक्षतामा शुरु कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले व्यानर वाचन गरेर उद्घाटन गर्नुभएको थियो । अभिमुखीकरणमा सहभागीहरुलाई पहिलो दिन अधिवक्ता कविता शर्माले विविध विषयमा जानकारी गराउनुहुने छ ।
उहाँले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, महिला हिंसाको स्वरुपमा परिवर्तन, हिंसा निवारणका लागि ध्यान दिनुपर्ने विषयवस्तु समेटिएको अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।अधिवक्ता शर्माले स्थानीय तहमा आएका उजुरीबाट स्थानीय स्तरमा कस्ता प्रकारका लैङ्गिक हिंसा रहेका छन् भनेर हेर्न सहज हुने भन्दैं यसका आधारमा लैङ्गिक हिंसा निवारणका कार्यक्रम बनाउन र परिमार्जन गर्न सहजहुने सहभागीहरुलाई बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा नै विवाद निरुपण हुन सकेको खण्डमा अंगभंग हुने, आत्महत्या गर्नै, हत्या हुने अवस्थासम्म पुग्ने जोखिम न्यून रहने र प्रारम्भिक चरणमै विवाद निरुपणका लागि नजिकको भरपर्दाे निकाय स्थानीय तह नै रहेको जानकारी गराउनुभयो ।
महिला हिंसा निवारणमा स्थानीय तहले राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालय, महिला सेल अदालत नागरिकस्तरका संघ संस्थासँग हिंसाका घटनामा र महिला सशक्तिकरणका लागि अन्य सम्बन्धित निकायसँग सक्रिय सहकार्य बढाउन रहेको आवश्यकता औल्याउनुभयो ।
नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेलका अनुसार कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी र महिला तथा बालबालिकाकाक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिसहित २५ जना सहभागी छन् । शुक्रबार नगरका कार्यवहाक प्रमुख उप्रेतीले कार्यपत्र प्रस्तुत गर्ने तथा नगरपालिकामा हिंसाका घटना कम गर्न कस्तो नीति बनाउने तथा त्यसमा कसरी वजेट विनियोजन गर्ने विषयमा चर्चा हुने छ । उद्घाटन कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ कार्यकारी अधिकृत अनन्तप्रकाश वस्तीले गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ । नेपालमा पनि २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । सामान्यरुपमा हामीले महिला हिंसा यौन शोषण,सार्वजनिक वा निजी जीवनमा, लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य, वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य पनि लैङ्गिक हिंसा तथा महिलाहरूलाई उनीहरूको अधिकार र स्वतन्त्रताको उपयोगबाट वञ्चित गर्नु पनि महिला हिंसा भएको महलिा अधिकारकर्मीहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु