राप्रपाले झापामा आज शक्ति प्रदर्शन गर्ने , हस्तक्षेप भए पछि नहट्ने चेतावनी

2020-12-05 मा प्रकाशित

मेचीनगर,२० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज शनिवार झापामा मोटरसाइकल र्यालीको नाममा शक्ति प्रदर्शन गर्दैछ ।
दश हजार मोटरसाइकल, ३०० साना गाडी र ५० वटा बसको लस्कर काँकरभिट्टादेखि विर्तामोडसम्म राजमार्गमा उतार्ने तयारीगरेको छ ।
राप्रपाका जिल्ला अध्यक्ष अम्बर बिष्टले र्याली अभूतपूर्व हुने र यसबाट संबैधानिक राजसंस्थासहितको हिन्दुराज्यको पक्षमा सन्देश जो दावी गरेका छन् ।‘हामी संघीयता र धर्म निरपेक्षता चाहँदैनौं’, बिष्टले पत्रकारहरुसँगको सवालजवाफमा भने–‘जनता अहिले के चाहन्छन् भन्ने एउटा प्रष्ट अभिमत अब सडकमा देखिनेछ ।’जिल्ला अध्यक्ष विष्टका अनुसार र्याली काँकरभिट्टाबाट दिउँसो १ बजे प्रारम्भ हुनेछ । उद्घाटन समारोहलाई पार्टीका पूर्व महामन्त्री तथा राप्रपा सांसद् राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार अढाई बजे मोटरसाइकल र्याली विर्तामोडको मुक्तिचोक पुग्नेछ । त्यहाँ पनि आधा घण्टाको कोणसभालाई लिङ्देन लगायतका नेताले सम्बोधन गर्नेछन् ।
काँकरभिट्टाबाट विर्तामोडको दूरीमा र्यालीले कम्तीमा अढाई घण्टा समय लिने आयोजकको आँकलन छ ।उप्रेतीले हरेक मोटरसाइकलमा दुई जनासम्म यात्री हुने, हरेकले मास्क लगाउने र मोटरसाइकल गुडाउँदा कम्तीमा एक मिटरको दूरी कायम गर्ने बताएका छन् ।
र्यालीमा सहभागिताका लागि राप्रपाले झापाका पालिकास्तरमा मात्र नभएर वडा वडाबाट कार्यकर्तालाई आउन उर्दी जारी गरेको छ ।
मोटरसाइकल नहुने र पाकाहरुलाई बसमार्फत राजमार्गमा ल्याउन दर्जनौ बस परिचालन गरिने भएको छ ।
र्यालीका सहभागीले राप्रपाको झण्डा र नेपालको झण्डा बोक्ने भएका छन् । तर र्यालीमा राप्रपा बाहिरका राजसंस्था र हिन्दु राज्य चाहने शक्ति समेत सहभागी हुने भएकाले उनीहरुले आफ्नो पहिचान झल्किने बेग्लै झण्डा समेत बोक्ने पार्टीका जिल्ला सचिव केशव ओझाले जानकारी दिए ।र्यालीमा नेपालका लागि नेपाली नामक अभियानका कार्यकर्ता घोषित रुपमै सहभागी बन्ने राप्रपा नेताहरुको भनाई ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु