अर्जुनधारामा वडाकार्यालय भवन शिलान्यास

2020-12-07 मा प्रकाशित

झापा । अर्जुनधारा ९ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ । दाताबाट जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
वडा कार्यालय भवनको नगर प्रमुख हरिकुमार रानाले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर शिलान्यास गरिएको भवन ६ कोठाको हुनेछ । नगरपालिकाबाट प्राप्त ६१ लाखको लागतमा वडा कार्यालयको भवन निर्माण हुने वडाध्यक्ष पुष्प प्रसाईले बताए ।
वडा नम्बर ९ को प्रणामी मन्दिरदेखि उत्तर पूर्वमा रहेको ३ कठ्ठा क्षेत्रफलमा कार्यालयको भवन निर्माण हुने भएको छ । ३० फिटको बाटो भएको उक्त क्षेत्रमा स्थानीय दाता मित्रबहादुर खड्काले २ कठ्ठा र अग्नि संग्रौलाले १ कठ्ठा जग्गा निःशूल्क प्रदान गरेका हुन् ।
जग्गादाता खड्का र संग्रौलाले करिब ६० लाख मूल्यबराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि प्रदान गरेका हुन् । शिलान्यास कार्यक्रममा जग्गादातालाई नगर र वडाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।
उक्त क्षेत्रको ३० फिटे बाटोमा यसै आर्थिक वर्षभित्र कालोपत्रे निर्माण गरिने भएको वडाध्यक्ष प्रसाईले जानकारी दिए । उनका अनुसार प्रणामी मन्दिरदेखि ७ सय मिटर क्षेत्रमा ३० लाख रुपैयाँको बजेटमा कालोपत्रे गर्न लागिएको हो । उनका अनुसार कालोपत्रे निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ ।
कार्यालय भवन निर्माण समितिका अध्यक्ष रुद्र न्यौपानेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमको सञ्चालन समितिका सचिव नेत्र रिजालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु