मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा सम्पन्न ,अध्यक्षमा ललितकुमार चयन

2020-12-15 मा प्रकाशित

काँकरभिट्टा, ३० मंसिर ÷ मेची चेम्बर अफ कर्मसको प्रथम साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
चेम्वरको सभाहलमा आयोजित साधारण सभाले आगामी दुईवर्षे कार्यकालकालागि ललितकुमार बोहोराको अध्यक्षतामा १८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रविनकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा कृष्णराज भण्डारी, उद्योग उपाध्यक्षमा बालकृष्ण रिजाल, महासचिवमा नारायाण प्रसाई, सचिवमा कृष्णकुमार पनेरु, कोषाध्यक्षमा मोहन कुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा रुकमिणा आचार्य पोख्रेल सर्वसम्मत चयन हुनुभएको हो । यसैगरी, सदस्यहरुमा सृजना पाण्डे, सुरज चौधरी, नरेश कुमार लावती, गोपीचन्द्र बराल, केशवराज दाहाल, कान्छा हुमागाई (गोकुल, सुवण भट्टराई, पुनित गोयल र प्रल्लाद थापा चयन हुनुभएको छ । नेपाल चेम्वर अफ कर्मसका १ नम्बर प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले साधारण सभाको उद्घाटन गर्नुभएको थियो । उहाँले हरेक व्यवसायीहरु एक आपसमा नफुटी जुटेर आफ्ना हक हित र अधिकार संरक्षण तथा प्राप्तिका एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कुनै पनि व्यवसायीले हरेक व्यवसायीहरुलाई प्रतिस्पर्धी भन्दा पनि मित्रवत व्यवहार गर्नुपर्नेमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घिमिरेले विचार राख्नुभयो । छरिएर रहेका हरेक व्यवसायीहरुलाई एउटै छातामूनि गोलबद्घ गराउनुपर्ने भन्दैं उहाँले यसका लागि व्यवसायीहरुका संघ संगठनहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
चेम्बर अफ कर्मसका अध्यक्ष बोहोराले संस्थाको विगत र वर्तमानका बारेमा भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो । “फस्टाउँछ व्यवसाय उद्योग व्यापार, मजबुत बन्छ स्थानीय सरकार ” भन्ने मुल नारा लिएर सेवामा आधारित संस्थाका रुपमा २०७७ साल साउन ६ गते संस्था ऐन २०३४ को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा विधिवत दर्ता भई तदर्थ समिति गठन भएको तदर्थ समिकिता संयोजक ललितकुमार बोहोराले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
उहाँले संस्थाको भावी योजनका बारेमा बताउदैं विधान संशोधन गर्ने,उत्पतिको प्रमाणपत्र वितरण गर्ने, संस्थामा सदस्यहरु विस्तार गदै लैजाने, कर सम्बन्धी अन्तरक्रिया,तालिम, गोष्ठी सम्पन्न गर्ने, मेचीनगर क्षेत्रका ब्यापारीहरुको समस्यालाई समन्वयात्मक ढंगबाट समाधान गर्न पहल गर्ने, मेचीनगरका विस्थापित बजारलाई स्थापित गर्ने भूमिका निर्वाह गर्ने, विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गर्ने, विभिन्न उद्योग तथा ब्यवसाय क्षेत्रका ब्यापारीहरुको हकहित संरक्षण गरी स्थानीय सरकारलाई सहयोग पु¥याउने भूमिका निर्वाह गर्ने ,शिक्षा र स्वासथ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने, धुलाबारी बजारमा सीसी टिभी क्यामेरा जडान आवश्यक जरुरी देखिएको हुदाँ मेचीनगर नगरपालिकासँग समन्वय गरी छिटो भन्दा छिटो जडान गर्न पहल गर्ने र आगामी दुई वर्ष भित्रमा अन्तर्राष्ट्रिय ब्यापार मेलाको आयोजना गर्ने जानकारी गराउनुभयो ।उद्घाटन सत्रमा चेम्बर अफ कर्मस झापाका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, महिला चेम्बर अफ कर्मस झापाका अध्यक्ष प्रेमा भट्टराई, चेम्बर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमली, वरिष्ठ उपाध्यक्ष सुभाष भट्राई, उपाध्यक्ष यमनाथ विमलीलगायत उद्योग व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद पनेरुले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु