मेभीनगर,६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा शनिबार प्रतिनिधि सभा विघटन भए सँगै सरकारको विरोधमा देशभर प्रदर्शन भैरहेको छ । लामो संघर्ष र बलिदान पछि प्राप्त भएको उपलव्धी लाई सनकको भरमा प्रधान मन्त्रीले समाप्त पारेको भन्दै प्रधान मन्त्रीको चर्काे आलोचना भैरहेको छ । आइतबार मेचीनगरको धुलाबारीमा अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा प्रदर्शन भएको छ । सयौंको संख्यामा युवा विद्यार्थी भेलाभई धुलाबारी मोड परिक्रमा गरि विरोध र्याली कोण सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम ’असंवैधानिक’, ’सर्वसत्तावादी’, ’राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता गर’ जस्ता बिभिन्न प्लेकाड बोकेका थिए ।
विरोध र्यालीलाई सम्वोधन गर्दै अनेरास्ववियू जिल्ला संयोजक अनिल सुवेदीले भर्खर जन्मिएको गणतन्त्रको बच्चालाई प्रधानमन्त्री ओलीले सनकको भरमा समाप्त पारेर राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाए । संसद विघटन गर्नु असंवैधानिक कदम भएको बताउँदै उनले सडक आन्दोनन मार्फत संसद पुनस्थापना गराँउने दावी गरे ।कार्यक्रममा सहसंयोजक दुर्गा धमलाले आफ्नै सरकारको बिरोधमा सडकमा आउँनु परेको भन्दै प्रधान मन्त्री ओलीको चर्काे विरोध गरेका थिए । कोण सभामा नेकपाका नेता विपि भट्टराई, प्रितम काफ्ले, प्रकाश खड्का, राष्ट्रिय युवा संघ नेपालका सरोज मेहेरा, बिनोद मण्डल, रघु धिमाल, लुसन तिवारी, सोम ओझालगायत नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ झापा सदस्य राजु धिमालले गरेका थिए ।
अहिले प्रमुख प्रतिपक्ष, प्रतिपक्षसंगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्याकर्ताहरुले पनि त्यसको चर्को बिरोध गरिरहेका छन् ।
2020-12-21 मा प्रकाशित
प्रतिकृया दिनुहोस्