संसद् विघटनको विरोधमा पुस १३ गते कांग्रेसले देशभर प्रदर्शन गर्ने

2020-12-24 मा प्रकाशित

झापा, ९ पुस । नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभर प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।शर्माले आन्दोलनका थप कार्यक्रमको पनि तयारी भइरहेको जानकारी दिए ।बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनमा जाने प्रस्ताव गरेका थिए । तेस्रो दिन पनि कार्यसमितिको बैठक जारी छ ।
देउवा पक्षले आन्दोलनमा जान आनाकानी गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेलाको आयोजना गरेर आन्दोलनमा जान दवाव दिएपछि अन्ततः कांग्रेसले संसद् विघटनविरुद्ध सडकमा जाने निर्णय गरेको हो ।
नेकपाको दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले पनि संसद् विघटन विरुद्ध केन्द्रदेखि वडा तहसम्म आन्दोलन चर्काउने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु