विराटनगरमा किटको अभावमा कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिन बन्द

2020-05-03 मा प्रकाशित

विराटनगर,२१ वैशाख । बिराटनगरमा किटको अभाव हुदा कोरोना परीक्षण गर्ने अटोमेटि मेसिन बन्द भएको छ । कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट ९आरएनए एक्ट्रयाक्सन किट माग गर्दै कोशी अस्पतालले दुई पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखिसक्यो । तर मन्त्रालयले किट नपठाउँदा कोशी अस्पतालको कोरोना परीक्षण ल्याबको अटोमेटिक मेसिन एक सातायता बन्द भएको हो ।।

मन्त्रालयले रिएजेन्ट किट नपठाएका कारण सामान्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने बाध्यता रहेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा। संगीता मिश्राले बताइन् । ‘मेसिनबाट एकै पटक ७२ वटा स्वाब परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयले रिएजेन्ट किट नपठाउँदा समस्या छ ।’

शनिबार प्रदेश सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थप गरेको छ । तर कोशी अस्पतालको ल्याब पूर्ण क्षमतामा सञ्चालन भएको छैन । सामान्य रुपमा परीक्षण गर्दा काम थोरै हुने र रिपोर्ट पनि ढिलो आउने मेसु मिश्राले बताइन् ।

प्रदेश १ मा मात्र ३१ जना कोरोना संक्रमित छन् । संक्रमण देखिएको स्थानमा परीक्षणको दायरा बढाउनुपर्ने भए पनि रिएजेन्ट अभावमा संकलन भएका स्वाबको परीक्षण पनि ढिलो भएको मिश्राले बताइन् । ‘किट नहुँदा मेसिन चल्ने कुरा भएन । म्यानुअल गर्दा थोरै मात्र परीक्षण गर्न सकिन्छ’ उनले भनिन् ‘मन्त्रालयमा दुई पटक पत्र लेखेर पठाएका छौं, आउँछ होला ।’

कोशी अस्पतालले हालसम्म ६४१ जनाको स्वाब परीक्षण गरेको छ ।

मन्त्रालयमा पनि थोरै छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल अटोमेटिक मेसिनमा प्रयोग हुने किट मन्त्रालयमा पनि थोरै मात्र रहेको बताउँछन् ।

मन्त्रालयमा भएका सामग्रीलाई आवश्यकता अनुसार वितरण गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु