बालकल्याण माविद्वारा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान

2021-01-09 मा प्रकाशित

मेचीनगर / मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शुक्रबार एक कार्यक्रमकाबीच कक्षा ९ का सर्वोत्कृष्ट छात्र–छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयले श्रेयासी एन्ड समीर अक्षयकोषमार्फत कक्षा ९ मा सर्वाेत्कृष्ट नम्वर ल्याउन सफल छात्रा स्नेहा पुरी र छात्र हेमराज कार्कीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो ।
विद्यालयले दुवै जनालाई चार–चार हजार नगद प्रदान गरेको थियो । करिव डेढ बर्ष अघि विराटनगर स्थाई घर भई हाल अस्ट्रेलिया बस्दै आएका समीर पौडेलले आँफु र आफ्नी छोरीको नामबाट ८६ हजारको उक्त अक्षयकोष स्थापना गरिदिएका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनकबहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यालयले सामुहिक अक्षयकोष समेत स्थापना गरेको छ । बिद्यालयले स्थाई प्रकृतिको श्रोत निर्माण गर्न बालकल्याण माबि बृद्घि विकास सामुहिक अक्षयकोषको स्थापना गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनकबहादुर कार्कीले बताए । विद्यालयले सामुहिक कोष निर्माणको लागि नीति तथा कार्यविधि बनाउन ब्यवस्थापन समिति अध्यक्ष कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति समेत निर्माण गरेको थियो । जसको सदस्यमा पिटीए अध्यक्ष सुभाष लिम्बु र प्रधानाध्यापक नारायण न्यौपाने रहेका थिए । ‘हाम्रो बालकल्याण मावि बृद्घि विकासमा सबैको जोस, राम्रो संस्कार र समृद्घिको लागि सामुहिक अक्षयकोष’ भन्ने मुल नाराका साथ स्थापित अक्षयकोषमा सोही विद्यालयका प्रावि इञ्चार्ज सन्तलाल माझीले आफ्ना स्वर्गीय बुवा मानबहादुर माझीको स्मृतिमा रु ५ हजार प्रदान गरेर सामुहिक अक्षयकोषको दोस्रो खाता खोलेका छन् ।
यस अघि सो कोषमा जन्मदिनको अवसर पारेर मेचीनगर ९ मागुरमाडी स्थाई घर भई हाल साउदी अरेविया बस्दै आएका २५ वर्षीय धनवीर लिम्बूले ३० हजार ५ सय ५२ रुपैयाँ प्रदान गरेर पहिलो खाता खोलेको विब्यस अध्यक्ष कार्कीले जानकारी दिए । उक्त अक्षयकोषमा क्रमश रकम वृद्घि गर्दै लगिने विद्यालयले जनाएको छ । सो अवसरमा अक्षयकोष दाता ज्योती प्रकाश पाठक, शिक्षक अभिभावक संघका अध्यक्ष सुभाष लिम्बु लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु