मेचीनगर–५ मा १ करोड ५० लाखको लागतमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन,सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु

2021-02-02 मा प्रकाशित

डम्बर बराल

मेचीनगर २० माघ  । प्लाष्टिकका सामग्रीको विकल्प खोजी भइरहेको समयमा मेचीनगर–५ मा सुपारीको खवटाबाट विभिन्न सामग्रीको उत्पादन सुरु गरिएको छ ।
मेचीनगरका तीनजना र पाँचथर एक युवाले संयुक्त रुपमा एडभान्स मल्टी प्रोडक्सन कम्पनी सञ्चालन गरेर उक्त सामग्रीको उत्पादन सुरु गरेका हुन । उद्योग सञ्चालनको लागि मेचीनगर ६ का याम निरौला, सोही वडाका हेमन्त महत, मेचीनगर–५ का निर्मल सुवेदी र पाँचथरका हिमाल निरौलाको संयुक्त लगानी रहेको छ ।


एक वर्ष अघि करिव डेढ करोडको लगानीमा सुरु गरिएको सो उद्योगबाट प्लेट, थाल बोटुका चम्चा लगायत १० आइटमका सामग्री उत्पादन भइरहेको उद्योगका सञ्चालक याम निरौलाले बताए । समाजमा केहि नयाँ कामको थालनी गरौँ र जसबाट पर्यावरण सन्तुलनमा समेत योगदान रहोस् भन्ने सोचका साथ यस किसिमको उद्योग सञ्चालन गरेको उनको भनाई छ ।
पछिल्लो समय प्लाष्टिकजन्य सामग्रीको विकल्प खोजी भइरहेको बताउँदै उनले भने प्लाष्टिकले बातावरणीय सन्तुलन बिग्रिँदै गएको छ । प्लाष्टिकजन्य फोहोर सरकारको समेत टाउको दुखाईको विषय बनेको र उपभोक्ताहरु समेत स्वास्थ्यप्रति सचेत बन्दै गएपछि विषादिरहित सामग्री उत्पादन सुरु गरिएको निरौलाले बताए । विषेशगरी विवाह, पार्टी, ब्रतबन्ध तथा धार्मिक अनुष्ठानहरुमा यसको प्रयोग हुने गरेको उनको भनाई छ  ।
२०७६ भदौबाट सञ्चालनमा आएको उक्त उद्योगमा व्यवसायिक उत्पादन मात्र सुरु भएको छैन सो क्षेत्रका ६ जनाले प्रत्यक्ष रुपमा रोजगारी समेत प्राप्त गरेका छन् भने अप्रत्यक्ष रुपमा १५० बढीले रोजगारी पाएको निरौलाको भनाई छ । उद्योगको लागि आवश्यक कच्चापदार्थ सुपारीको खवटा स्थानीय किसान, मेचीनगरको बाहुण्डाँगी, तिरिङ तथा रोङ गाउँपालिकाको क्षेत्रबाट समेत संकलन गर्दै आएको उनले बताए ।


उद्योग स्थापनाले समाजको विकासमा समेत योगदान पुर्याउने बताउँदै अर्का सञ्चालक एवम मार्केटीङ प्रमुख हिमाल निरौलाले कोभिडकै बीचमा सुरु गरिएको उद्योगमा पछिल्लो समय बजारको माग अनुसार उत्पादनलाई बढाउँदै लगिएको बताए । सुरुमा सानो परिमाणमा सामग्री उत्पादन गरेर प्रचार प्रसार गरियो, आज यसको माग देशका विभिन्न ठाउँबाट हुन थालेको छ ।
आफ्नो उत्पादन झापा लगायत मोरङ, विराटनगर, काठमाण्डौँ, बुटवल र पोखरामा बढी खपत हुनेगरेको उनको भनाई छ । हिन्दु संस्कारमा पातको सामग्रीको प्रयोग हुने गरेको स्मरण गर्दै उनले भने योपनि पातकै सामग्री हो यो पूर्ण रुपमा अग्र्यानिकपनि छ । बजारमा आएका प्लाष्टिकजन्य सामग्रीको सट्टामा केहि महङ्गो हुने भएपनि स्वास्थ्यको हिसावले बढी प्रभावकारी उपयोगी हुने उनले बताए ।
सामग्री उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै कर्मचारीकै रुपमा काम गरिरहेका अर्का सञ्चालक निर्मल सुवेदीले पछिल्लो समय उत्पादनलाई केहि प्रतिशत बढाएपनि कोभिडको कारण मेशीनलाई फुलफ्लेजमा सञ्चालन गर्न नसकेकोे बताए । बजारको माग अनुसार उत्पादनलाई बढाईरहेको छौ उनले भने “आगामी दिनमा मेसिन फुल फ्लेजमा चल्नेछ ”पातबाट थाल तथा प्लेटजन्य सामग्री बनाउने विधिका बारेमा प्रष्ट पार्दै उनले थपे पातलाई पानीमा धोएर शुद्घिकरण गरी मेसिनमा केमिकलको प्रयोग नगरी हिट दिएर सामग्री उत्पादन हुनेगरेको बताउँदै सामग्री उत्पादनका बारेमा प्रष्ट्याएका थिए  । आगामी दिनमा थप केहिमेशीन खरिद गर्ने योजना रहेको उनको भनाई छ । कच्चापदार्थ खरिदको लागि उद्योगले किसानलाई उचित मूल्य दिने गरेको बताउँदै उनले भने खेरजाने खवटा हामीले प्रयोग गरेका छौ यसबाट उद्योग मात्र होइन किसानपनि लाभान्वित भएका छन् ।


मेचीनगरको विकट वडाको रुपमा चिनिएको मेचीनगर ५ पछिल्लो समय विकासले तीव्रता पाउँदै आएको छ । सो वडामा हाल २ वटा उद्योग स्थापना भैइसकेका छन् । एडभान्स मल्टी प्रोडक्सन कम्पनीले उत्पादन सुरु गरिसकेको छ भने सुरेन्द्रनगर चिया उत्पानक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकता भएपछि एनएमसीको स्वामित्वमा रहेको एनएमसी चिया उद्योग समेत आमामी फागुनको अन्तिम साताबाट सञ्चालनको तयारीमा छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु