बाहुनडाँगीमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर जारी , नगरका सवै वडामा शिविर सञ्चालन गर्ने नगर प्रमुख आचार्यको भनाई

2021-02-11 मा प्रकाशित

बाहुनडाँगी, २९ माघ । मेचीनगरको बाहुनडाँगीमा जारी स्वास्थ्य शिविरमा एकै थलोबाट बिभिन्न किसिमका बिरामीहरुको स्थास्थ्य परिक्षण तथा परामर्श भइरहेको छ ।बिशेषगरी मृगौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा सो क्षेत्रका बासिन्दामा उच्च रक्तचापको अवस्था भयावह रहेको एक तथ्याङ्कले देखाएको छ ।

ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरेर मेचीनगरको बाहुनडाँगीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा जाँच गराउन आएकाको स्वास्थ्य रिपोर्टले रक्तचापका बिरामी धेरै भएको देखाएको हो । शिविरमा बिरामीको स्वास्थ्य जाँच गर्न आएका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. सन्जीव शर्माले दीर्घरोग मध्ये उच्च रक्तचापका बिरामी अत्यधिक रहेको बताए ।

केएचडीसी नामक संस्थाको सहयोगमा मेचीनगर वडा नं. ४ ले माघ १८ गतेदेखि बाहुनडाँगीको सामुदायिक भवनमा निशुल्क स्वास्थ्य जाँच तथा परामर्श अभियान सञ्चालन गरिरहेको छ । डा. शर्मा नेतृत्वको टोलीले सुरु गरेको ‘स्वस्थ जीवन’ अभियान अन्तर्गत बाहुनडाँगीमा सञ्चालित शिविर फागुन ७ गतेसम्म चल्ने मेचीनगर वडा नं. ४ का वडाध्यक्ष नविन बरालले जानकारी दिए । उनका अनुसार हरेक हप्ता डा. शर्मासहित दैनिक दुईजना भन्दा बढी विशेषज्ञ डाक्टरहरु आएर शिविरमा बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन् ।

बाहुनडाँगीको शिविरमा आज (माघ २९ गते) सम्म ७४१ जनाको स्वास्थ्य जाँच भएको छ । त्यसमध्ये ४९० जनाको केही न केही स्वास्थ्य खराबी देखिएको डा. शर्माले बताए । उनका अनुसार ३२ जनामा पहिलो पटक मधुमेह देखिएको छ । त्यस्तै, मिर्गौलाका १९ नयाँ रोगी भेटिएको छ भने ३७ जनामा दम, ३९ जनामा मुटु रोग देखिएको उनले जानकारी दिए ।

डा. शर्माले बाहुनडाँगी मात्रै नभएर समग्र क्षेत्रमा दीर्घरोगको अवस्था विकराल बन्दै गएको बताए । सामान्यतया किड्नी, उच्च रक्तचाप, डाइविटिज र मुटुरोग लाई दीर्घरोग मानिन्छ । ‘यी चारवटा रोगको लक्षण भनेकै लक्षण नहुनु हो,’ उनले भने, ‘जब अङ्ग विग्रिन्छ अनि मात्रै थाहा हुन्छ । धेरैजसो मानिसलाई लक्षण थाहै नहुने देखिएको छ ।’

उनले यी चार प्रकारका रोग मानिसका निम्ति ‘साइलेन्ट किलर’ भएको उनले बताए । सुरुकै अवस्थामा पत्ता लगाएर साधारण उपचारमार्फत दीर्घरोगबाट बच्न सकिने बताउँदै उनले मानिसले अहिलेको जीवन शैली परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘खानपान र अल्छीपनाका कारणले मानिसलाई रोग लागिरहेको छ,’ उनको सुझाव छ, ‘हामीले हाम्रो जीवन जिउने तरिका अब बदल्न जरुरी छ ।’

स्वास्थ्य शिविरको महत्व बुझाउन आज (विहीवार) आयोजित अन्तरक्रियामा बोल्दै मेचीनगर प्रमुख विमल आचार्यले हरेक वडाका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भनेर गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । उनले अझै पनि स्वास्थ्यका बारेमा मानिसले हेलचेक्याइँ गर्ने गरेको बताए ।

प्रमुख आचार्यले अब सामान्य रोगको उपचार गर्न बाहिर जान नदिन नगरपालिकाले वडामै भरपर्दो स्वास्थ्य सेवा सुरु गरेको बताए । ‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर हरेक वडामा काम भइरहेको छ,’ उनले भने, ‘स्वस्थ नगरको परिकल्पनालाई साकार पार्ने अभियानमा छौँ । यसमा सबै क्षेत्र र नगरबासीको सकारात्मक सहयोगको खाँचो छ ।’

अन्तरक्रियामा मेचीनगर उपप्रमुख मीना उप्रेती, नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकाल, किड्नी रोग लागेर स्वास्थ्य लाभ लिइरहेका दमकका गोविन्द भट्टराई लगायतले स्वास्थ्य अनुभव सुनाएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्र बुढाथोकी, काँकरभिट्टा इलाका प्रहरी कार्यालयका डिएसपी सुनिल दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु