कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या दुई पुग्यो

2020-05-17 मा प्रकाशित

झापा, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । उनी कोरोनाका कारण मृत्यु हुने दोस्रो व्यक्ति हुन् ।

मृतक युवक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । लगातार दुई घन्टा वान्ता गरेका उनको आइतबार विहान ४ बजे मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको मृत्युको पुष्टि भएको थियो । उनको विहीबार मृत्यु भए पनि मन्त्रालयले शनिबार उनको मृत्यु कोरोना संक्रमणबाट भएको घोषणा गरेको थियो ।

हालसम्ममा कोरोना संक्रमितको संख्या २९२ पुगेको छ भने निको भएर ३६ जना घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु