मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारण सभा सम्पन्न

2021-03-06 मा प्रकाशित

काँकरभिट्टा, २२ फागुन । मेची सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ। काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन् संविधान सभा सदस्य रविन कोइरालाले ब्यानर पढेर गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी कोइरालाले नागरिक र प्रहरीबीचको सुमधुर सम्बन्ध स्थापित गर्न सामुदायिक प्रहरीले पुलको काम गरिरहेको बताए । समाजमा बढ्दै गएको विकृतीलाई न्यूनिकरण गर्न समेत विना वर्दीका प्रहरीको रुपमा सामुदायिक प्रहरीले निरन्तर प्रहरीसँग हातेमालो गर्दै अघि बढेको समेत बताए ।

सामुदायि प्रहरीका संस्थापक अध्यक्ष समेत रहेका कोइरालाले सशस्त्र द्वन्दबाट राज्यसत्ता परिवर्तनको अभियानमा लागेको विप्लव समुह राजनीतिक मुलधारमा फर्किएको बताउँदै अब देश दिगो शान्तिको बाटोमा अघि बढेको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, एक नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई, नेपाली कांग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकी, जनता समाजवादीका पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी शुनिल दाहाल, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष हर्क फ्याक सुव्बा, सामुदायिक प्रहरी सेवा केन्द्रका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा काँकरभिट्टाका प्रमुख प्रेम राई, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विक,राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, काँग्रेस नेता बसन्त तिवारी, पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णु श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाकी महिला प्रहरी गौरीमाया श्रेष्ठलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।सो अवसरमा सामुदायिक प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याएको भन्दै माइती नेपाल, सानाहात नेपाल, पूव मेची बस व्यवायिक संघ प्रालि, साहसी महिला नेपाल, मेची भन्सार कार्यालय, मेची नेत्रालय ,केन्द्रका कार्यसमिति सदस्य तथा छड्के अनुसन्धान साप्ताहिकका प्रकाशक बालकृष्ण थापा.लगायत एक दर्जन भन्दाबढी संघ–संस्थालाई  सम्मान गरिएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्विनाथ पौडेलको सभापतित्व रहेको थियो । कार्यक्रममा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले २०५१ सालबाट नेपालमा सामुदायिक प्रहरीको अवधारणा लागु गरेर देशभर विकृति, विसंगति र अपराध नियन्त्रणमा ठूलो भूमिका निर्वाह गर्दै आएको बताउँदै सामाजिक न्यायको आधारमा समस्या निरुपण गर्दै गएको बताए ।

काँकरभिट्टामा २०६० सालमा ११ जना सदस्यबाट सुरु भएको सामुदायिक केन्द्रमा हाल पाँच सय १० जना सदस्य रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । समितिकी उपाध्यक्ष बीना तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव गंगाप्रसाद कोइरालाले गरेका थिए ।आजको साधारण सभाको उद्घाटनपछि बन्दसत्रमा कोरम नपुगेकाले आगामी चैत २० गते बन्दसत्र हुने प्रचारप्रसार समितिका संयोजक बालकृष्ण थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु