भारतमा कोरोना संक्रमण बढेपछि काँकरभिट्टा नाकामा कडाइ

2021-04-01 मा प्रकाशित

मेचीनगर, १९ चैत । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्ररुपमा बढेपछि नेपालका सीमा नाकामा कडाइ गर्न थालिएकोे छ ।

पूर्वीनाका काँकरभिट्टा भएर नेपाल आउने र भारततर्फ जानेहरुलाई सीमा नाकामा कडाइ गर्न थालिएकोे हो ।भारतमा कोरोना संक्रमण बढेसँगै भारतीय भुमिमा कामका लागि गएका नेपालीहरु घर फर्कन थालेका छन् । भारतको विभिन्न क्षेत्रबाट मानिसहरु नेपाल आउन थालेपछि कोरोना संक्रमण भित्रिएला भन्ने चिन्ता समेत बढेको छ । सरकारले कोरोना संक्रमण हुन नदिन सीमा नाकामा आवत–जावतलाई व्यवस्थित र कडा पार्न निर्देशन दिएपछि काँकरभिट्टा सीमा नाकालाई थप व्यवस्थित बनाउँदै लगेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिल दाहालले बताए ।

‘हामी नाकालाई थप व्यवस्थित गर्ने प्रयासमा छौँ’, उनले भने ‘संक्रमण फैलिन नदिन नेपाल प्रवेश गर्नेहरुलाई थर्मल गनको प्रयोगबाट ज्वरो नाप्ने र उनीहरुको ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट हेरेर प्रवेश गर्न दिईएको छ ।’ सीमा नाकामा मेचीनगरपालिकाको हेल्थडेक्स र एपिएफको हेल्थडेक्सले स्वास्थ्थ्य परीक्षण गरिरहेको उनको भनाइ छ । सुरक्षाकर्मीको हेल्थडेक्स मेची पुलमै छ भने मेचीनगरपालिकाले बाहुनडाँगी रोड छेउमा हेल्थडेक्स राखेर काम गरिरहेको छ । उनीहरुले नेपाल प्रवेश गर्ने र भारततर्फ जानेहरुलाई थर्मल गनको प्रयोग गरेर ज्वरो मापन गर्ने तथा उनिहरुको अभिलेख समेत राख्ने गरिएको छ ।आइतबार १ हजार ६ सय २६ जना पूर्वीनाका काँकरभिट्टा भएर बाहिरिएका थिए भने सो बाटो भएर ९ सय ५३ जना नेपाल प्रवेश गरेका थिए । सोमबार ११ सय १४ जना बाहिरिदा १ हजार ८३ जना नेपाल प्रवेश गरे । त्यसैगरी मंगलबार २३ सय ९३ जना भारत गएका छन् भने १हजार ६८ जना नेपाल प्रवेश गरेको डीएसपी दाहालले बताए । आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर कोरोना संक्रमणबाट हुन सक्ने जोखिम र त्यसबाट जोगिन प्रशासन र स्थानीय सरकारले खेल्नु पर्ने भुमिको विषयमा छलफल गरेको थियो । सो छलफलपछि स्थानीय सरकार र प्रहरी प्रशासनले घरायसी सामान खरिदको बहानामा भारत नजान नागरिकलाई अनुरोध गरिरहेको छ ।

हामीले बैठकको निर्णयलाई पूर्ण रुपमा पालना गरिरहेको छौ । भारत सँग प्रत्यक्ष सीमा जोडिएको हँुनाले मेचीनगरमात्र होइन झापा जिल्ला नै उच्च जोखिममा छ त्यसैले नागरिकहरुलाई अत्यावश्यक काम बाहेक भारत नजान भनेका छौँ । अत्यावश्यक कामको लागि प्रक्रिया पुरागरेर पठाउने गरेको तर घरायसी सौदाकिन्न भारतीय बजार जानेहरुलाई भने कडाइ गरिएको उनले बताए । उता नेपाली सेनाले मेची पुलमा रहेको हेल्थ डेक्स नजिक मंगलबार होल्डिङ सेन्टर स्थापना गरेको छ । सेनाले सीमा नाकाबाट हुने आवतजावत र चेकजाँचलाई थप व्यवस्थित गर्न उक्त होल्डिङ सेन्टर स्थापना गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

अघिल्लो वर्ष नेपालमा कोरोना भाइरको संक्रमण भित्रिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गर्यो । भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणा गराएको थियो । तर खुला नाकाको कारण विभिन्न क्षेत्रबाट मानिसहरु नेपाल भित्रिएपछि समुदायमा संक्रमण फैलिएको थियो । जसका कारण गतवर्ष झापामा ४६ सय २९ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने १ सय २८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईले जानकारी दिए ।

उनका अनुसार ४४ सय ८८ जना निको भएर घर फर्किएका छन् । हाल १३ जानको उपचार भइरहेको छ । झापामा ३६ हजार ८०० को पीसीआर टेष्ट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमण पुनः भित्रिन नदिन सीमा नाकामा स्वास्थ्य सावधानी अपनाएर स्वास्थ्य परीक्षणको लागि हेल्थडेक्स स्थापना गरिएको उनले बताए ।

अघिल्लो वर्ष लकडाउन हुँदा होटल व्यवसाय, यातायात, उद्योग धन्दा, सञ्चार लगायत धेरै क्षेत्र प्रभावित हुन पुगेको थियो । पुनः दोस्रो चरणको कोरोना संक्रमण बढ्दै छ । यसलाई न्यूनिकरणको लागि सरकार समयमै सचेत हुन आवश्यक छ ।

मेचीनगर, १९ चैत । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्ररुपमा बढेपछि नेपालका सीमा नाकामा कडाइ गर्न थालिएकोे छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु