एनएमसी चिया उद्योग सञ्चालन,ग्रीन टी र अर्थाेडक्स चिया प्रशोधन सुरु

2021-04-02 मा प्रकाशित

डम्बर बराल

मेचीनगर, २० चैत । नेपाल वहुउद्देश्यीय सहकारी संस्थाको स्वामित्वमा रहेको चिया उद्योग बिहीबारदेखि सञ्चालनका आएकोछ । संस्थाले आफ्नो पाँचौँ व्यवसायको रूपमा अर्थाेडक्स र ग्रीन टीको उत्पादन सुरू गरेको हो ।मेचीनगर ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक वर्षमा एकीकरण भएपछि सहकारीले नयाँ आयामको व्यवसाय सञ्चालनलाई प्राथमिकता दिएको थियो। तात्कालिन सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले १ करोड १६ लाखको लागतमा ग्रीन टी र अर्थाेडक्स चिया प्रशोधन कारखाना निर्माण सुरु गरेको थियो भने उक्त चिया प्रशोधन कारखाना निर्माणको लागि नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय सहकारी विभागबाट ६९ लाख ९० हजार अनुदान प्राप्त भएको थियो । दुई सहकारी संस्थाहरूबीच एकता भएसँगै सहकारीले थप एक करोड रकम विनियोजन गरी निर्माण को काम सम्पन्न गरेर प्रशोधनको काम सुरु गरेको हो । हामी फागुनको अन्तिम साताबाटैै प्रशोधान गर्ने तयारीमा थियौ तर प्राविधिक काम सम्पन्न गर्न केहि ढिलोभयो तर अव भने प्रशोधनको काम सुरु भएको छ । हामी गुणस्तरीय चिया उत्पादनमा लाग्ने छौ । चिया प्रशोधन पछि सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले भने,“एन एमसी को आफ्नै व्राण्ड छ तयारी चिया विक्रिको लागि बजारको समेत समस्या नभएको उनले बताए ।”

स्थापनाको सुरुमा बैङ्किङ व्यवसाय मात्र सञ्चालन गर्दै आएको भए पनि २०७२ सालबाट बहुव्यवसायको रूपमा फड्को मार्दै आएको सहकारी संस्थाले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । हाल सहकारी संस्थाले बैङ्किङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमुना कृषि फर्म, सहकारी पसल व्यवसाय सुरु गरिसकेको छ भने पाँचौँ व्यवसायको रूपमा चिया व्यवसाय सुरु गरेको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

‘हामी सधैँ सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्दै आएका छौँ’, अध्यक्ष उप्रेतीले भने ‘आगामी दिनमा थप व्यवसायसमेतको योजना बनाएका छौँ, सदस्यहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम हाम्रो सहकारीको अवधारणा हो । हाल अर्थोडक्स र ग्रीनटी उत्पादन गर्ने र पछि क्रमशः सिटिसी चिया उत्पादन र बजारीकरणको सम्भाव्यता अध्ययन गरिनेछ ।’ चालु आर्थिक वर्षबाट हरियोपत्ती प्रशोधन गरी चिया आफ्नै प्याकेजिङमा सहकारीले बजारमा पठाउने तयारी गरेको एनएमसी चिया उद्योगका संयोजक दिलीपजंग सुब्बाले बताए । झापामा पहिलोपटक सहकारीमार्फत ग्रीनटी र अर्थोडक्स चिया उत्पादन सुरु गरिएको उनले बताए । सहकारीले चिया उद्योग सञ्चालन गरेपछि स्थानीय चिया कृषक तथा सदस्यहरु उचित मूल्य पाइनेमा आशावादी बनेका छन् ।

सहकारीले हरेक व्यवसायलाई व्यवस्थित सञ्चालन गर्न लगानी सीमासमेत निर्धारण गरेको छ । सहकारीले बैङ्किङ व्यवसायतर्फ ६९ करोड, डेरी व्यवसायतर्फ २० करोड, एकीकृत नमूना कृषि फर्मतर्फ २५ करोड, सहकारी पसल व्यवसायमा २५ करोड र चिया प्रशोधन व्यवसायमा ५ करोड लगानी सीमा निर्धारण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
२०५० सालमा २६ जना शेयर सदस्यहरूको कुल २ लाख ५३ हजार शेयर पूँजीबाट सुरु भएको सहकारी संस्थामा हाल १ लाख शेयर सदस्य छन् । १ अर्व ६ करोड शेयर रकम पुगेको छ । सहकारीले हालसम्म ९ अर्व कर्जा लगानी गरेको छ भने ८५ अर्व निक्षेप रहेको बैंकिङ व्यवसायका प्रशासनिक प्रमुख मनिष कोइरालाले बताए ।

झापालाई मुख्य केन्द्र बनाएर बैंकिङ व्यवसाय गर्दै आएको सहकारीले पछिल्लो समय इलाम र मोरङ जिल्लामा समेत सेवा विस्तार गरेको कोइरालाको भनाइ छ । बहुव्यवसायमा होमिएको सहकारीले २०७२ वैशाख ३ गतेदेखि मेचीनगर–८ स्थित जोरसिमल क्षेत्रमा डेरी उद्योग सञ्चालनमा ल्याएको छ । डेरी उद्योग सञ्चालनमा आएपछि सदस्यहरू व्यावसायिक गाईपालनतर्फ अगाडि बढेको र उनीहरूको जीवनस्तर उक्सिँदै गएको डेरी उद्योगका संयोजक एवम् सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताए ।

डेरी उद्योग सञ्चालनमा हालसम्म १५ करोड १० लाख लगानी भइसकेको उनको भनाइ छ । डेरी उद्योगले सदस्यद्वारा उत्पादित दुध उचित मूल्यमा खरिद गरेर प्रशोधित दुध, आइसव्रिmम, योगहर्ट, दहि, घिउँ, पनिर मिठाइ लगायतका विभिन्न परिकार बनाएर बजारमा पठाउने गरेको डेरी उद्योगका प्रशासनिक प्रमुख नवराज अधिकारीले जानकारी दिए । हाल डेरी उद्योगले ४५ सय किसानले उत्पादन गरेको दुध खरिद गरिरहेको छ । किसानको दैनिक १५ हजार लिटर दुध खरिद गरिरहेको उनले बताए ।

डेरी द्योगले झापामा ३६ वटा चिस्यान केन्द्र स्थापना गरेको छ भने ४ सय ४५ वटा पसलमार्फत दुधजन्य पदार्थ बिक्री भईरहेको कोइरालाको भनाइ छ । सहकारीले तेस्रो व्यवसायको रूपमा मेचीनगर–१४ मा नमुना कृषि परियोजना सञ्चालन गरेको छ । सो क्षेत्रमा सहकारीले आफ्ना सदस्यहरूलाई कृषितर्फ आकर्षित गर्न विभिन्न समयमा बिउँबिजन सम्बन्धी प्रशिक्षण दिँदै आएको छ भने गाईफर्म, माछापालन लगायत विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।

सहकारीले एकसय गाईपाल्ने योजनाका साथ गाईफर्म निर्माण गरिसकेको छ । उक्त फर्ममा हालै मात्र उन्नत जातका २४ वटा गाई पालन सुरु भएको छ भने चाँडै २६ वटा गाई थप गर्ने योजना रहेको एनएमसी नमूना कृषि फर्मका प्रशासनिक प्रमुख भुपाल गौतमले बताए । आधुनिक र व्यवसायिक कृषि उत्पादनमा लाग्न आफ्ना सदस्यहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालित कृषि फर्ममा हालसम्म १३ करोड १० लाख लगानी भइसकेको उनले बताए ।

त्यस्तै परियोजनामा निर्माण गरिएको तीनवटा पोखरीमा ८० हजार माछाका भुरा लगाएको छ भने थप एउटा पोखरी निर्माण भइरहेको उनले बताए । त्यसैगरीे २०७६ जेठदेखि सहकारी पसललाई व्यावसायिक रूप दिएको सहकारीले जिल्लाका विभिन्न क्षेत्रमा ९ वटा सहकारी पसल सञ्चालनमा ल्याइसकेको छ । यसै आर्थिक वर्षमा २ वटा पसल थप गर्ने योजना रहेको र हालसम्म सहकारी पसल सञ्चालनमा १० करोड ३० लाख लगानी भइसकेको सहकारी पसलका प्रशासनिक प्रमुख नवीन भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु