संसदबाटै सरकारको विकल्प खोज्छौँ ः नेता सिंह

2021-04-02 मा प्रकाशित

बिर्तामोड, २० चैत । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कांग्रेसले संसदमार्फत नै वर्तमान सरकारको विकल्प खोजी गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन झापाको आयोजनामा विहीबार विर्तामोडमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले वर्तमान सरकारको निरन्तरता देशका लागि दुर्भाग्य हुने बताउँदै सरकारको विकल्प खोजी गर्ने बताएका हुन्।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको न पनि नभएको टिप्पणी गर्दै नेता सिंहले भने–‘कम्युनिष्टसँग नैतिकताको न पनि हुँदैन रहेछ । नैतिकता हुन्थ्यो भने वर्तमान प्रधानमन्त्रीले संसद विघटनको निर्णय सर्वोच्चले बदर गरे लगत्तै राजीनामा दिनुपथ्र्यो ।’ ओलीले यही चैत २३ गतेभित्र विश्वासको मत संसदबाट लिनुपर्ने भए पनि उनले आनाकानी गरिरहेको नेता सिंहको आरोप छ ।

‘जनताको बहुमत प्राप्त गरेपनि कम्युनिष्ट पार्टीको सरकार असफल हुनु दुर्भाग्यपूर्ण छ’, पत्रकार सम्मेलनमा नेता सिंहले भने –‘केपी ओलीलाई अब पनि सत्तामा रहिरहन दिनु भनेको देशको वर्वादी मात्रै हो ।’ वर्तमान प्रधानमन्त्रीले निरन्तर लोकतन्त्रविरोधी कार्य गरिरहेको बताउँदै नेता सिंहले लोकतन्त्रको संरक्षणका लागि कांग्रेसले छिट्टै सरकारको विकल्प खोज्ने समेत दोहोर्याए ।

संसद विघटन बदर भएपश्चात पनि प्रधानमन्त्री ओली संसदमा उपस्थित हुन नचाहेको, संसद सुचारु गर्न सहयोग नगरेको भन्दै नेता सिंहले देश फेरि संसद विघटनको बाटोमा जाने खतरा बढेको बताए ।

‘सिट संख्याका आधारमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था काँग्रेससँग छैन’ उनले भने । नेता सिंहले काँग्रेसलाई चरित्र अनुसारको पार्टी बनाउन नेतृत्व जुट्नुको विकल्प नभएको बताए । चौधौ महाधिवेशनमार्फत कांग्रेसले शक्तिसम्पन्न जुझारु नेतृत्व ल्याउने वताउँदै नेता सिंहले त्यसका लागि आफू छलफलमै रहेको बताए ।

प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, गोपालकुमार बस्नेत, कांग्रेस इलामका सभापति हिमाल कर्माचार्य, कांग्रेस झापा भातृ संस्था समन्वय विभाग प्रमुख देउमान थेवे, जिल्ला सदस्य शेरबहादुर थापा, महासमिति सदस्य सिता पौडेल, नेपाल महिला संघ झापा अध्यक्ष सुशिला ढकाल, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला पोखरेल, झापा सभापति यज्ञप्रताप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रेस युनियन झापाका सल्लाहकार राजेन्द्र गौतमले स्वागत, र कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु