काँकरभिट्टा खानेपानीको निर्वाचन भोली

2021-04-02 मा प्रकाशित

मेचीनगर, २० चैत । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन भोली शनिबार हुँदैछ ।
निर्वाचनमा कुल १२ पदका लागि ३१ जनाउम्मेद्वार प्रतिष्पर्धामा छन् भने ५२ सय ५९ जना उपभोक्ताले मतदानमा भाग लिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको लोकतान्त्रीक प्यानल, एमाले र राप्रपाको गठबनधन तथा संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च मैदानमा होमिएको छ । निर्वाचनमा लोकतान्त्रीक प्यानलको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका हर्कबहादुर लिम्बू ९फ्याक ० र गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार राजकुमार पराजुली र मञ्चका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार लिलानाथ आङदेम्बेबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।

निर्वाचनमा तीनवटै पक्षले जीत आफ्नो पक्षको हुने दावी गरिरहेका छन् । लोकतान्त्रीक प्यानलबाट अध्यक्ष पदका प्रत्यासी बनेका फ्याक आफु र आफ्नो प्यानललाई मतदाताहरुले विश्वास गरेर भारि मतले विजयी गराउने दावी गरे । उनले भने,‘मेरो कार्यकालमा उपभोक्ताहरुलाई शुद्घ पिउने पानी उपलब्ध गराउनेदेखि नयाँ क्षेत्र विस्तारका धेरै काम भएको छ र अझै धेरै काम गर्नुछ, त्यसैले ती काम पुरा गर्न उपभोक्ता मतदाताहरुले म र मेरो टिमलाई मत दिएर जिताउनु हुनेछ ।’

हाल अध्यक्ष पदको जिम्मेवारी सम्हालिरहेका फ्याकले नगर विकास कोषको १५ करोड ८० लाखको ऋण रकमलाई आफ्नो कार्यकालमा साढे बाह्र करोडमा झार्न सफल भएको बताए । मेचीनगर–५ स्थित सुरेन्द्रनगरमा प्रदेश सरकारको बजेटबाट ३० लाखको लागतमा बोरिङ निर्माण गरेको र सांसद विकास कोषको १५ लाख बजेटबाट पाइप विस्तार गरेर उपभोक्ताको मनछुने काम गरेको उनको भनाइ छ ।

उनका अनुसार ६ करोड ४२ लाखको सहलगानीमा दिशाजन्य लेदो व्यवस्थापनको काम भईरहेको छ । उनले खानेपानीलाई रिचार्ज प्रणालीमा रुपान्तरण गरिएको र आगामी दिनमा क्षेत्र विस्तार तथा खानेपानीको भरपर्दो व्यवस्थापनमा आफ्नो टीम लाग्ने प्रतिवद्घता व्यक्त गरे । उनले सो कामको लागि डीपीआर भईसकेको र सम्झौता गर्न बाँकी रहेकोले निर्वाचित भएपछि तत्काल काम अघि बढाउने बताए ।

उता संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार बनेका राजकुमार पराजुलीले खानेपानीमा लामो समयसम्म विभिन्न जिम्मेवारीमा रहेर अनुभव हासिल गर्दै उपभोक्ताको मन जित्ने काम गरेको कारण यसपटक उपभोक्ताले आफुलाई न्याय गर्ने बताए । उनले भने, ‘म मात्र होइन हाम्रो गठबन्धनलाई उपभोक्ता मतदाताहरुले आफ्नो अमुल्य मत दिएर विजयी गराउनु हुनेछ ।’

खानेपानीलाई समार्ट खानेपानीको रुपमा विकास गर्ने योजना बनाएका उनले आगामी दिनमा पानी व्यवस्थापनलाई प्रविधि मैत्री बनाइने र रिचार्ज प्रणालीलाई पूर्णरुपमा लागु गर्ने उनले बताए । हाल सचिव पदको जिम्मेवारी सफलतापूर्वक सम्हाली रहेका पराजुलीले यसअघि पानी सुरक्षा समितिको सदस्य तथा कोषाध्यक्ष पदको जिम्मेवारी पुरा गरिसकेका छन् ।

अध्यक्ष पदकै अर्का प्रत्यासी उम्मेद्वार लिलानाथ आङदेम्बे सङ्घीय लोकतान्त्रीक राष्ट्रिय मञ्चको तर्फबाट मैदानमा होमिएका छन् । पानी व्यवस्थापनमा हालको कार्यसमितिले प्रभावकारी काम गर्न नसकेको भन्दै उनले आफुले उम्मेद्वारी दिएको बताए । आङदेम्बे भन्छन, उपभोक्ता लेदो पानी पिउँन बाध्य छन् । त्यसैले पानीको भरपर्दो व्यवस्थापन गर्ने अभियानमा आफ्नो टिम लाग्ने उनले बताए । घरदैलो अभियानमा जुटेको आङदेम्बेले भने, ‘धेरैको विश्वास पाएको छु, अव मत पनि पाउनेमा आशावादी छु ।’

संस्थाको ९ जना कार्यसमिति र ३ जना लेखा समितिसहित १२ पदका लागि ३१ जना उम्मेद्वार मैदानमा छन् । लोकतान्त्रीक प्यानलबाट उपाध्यक्ष पदमा माओवादी केन्द्रकी रिमादेवी खरेल, सचिव पदमा जनता समाजवादी पार्टीका दिलीपजंग सुब्बा, कोषाध्यक्षमा काँगेसको तर्फबाट मीना कटुवाल छन् ।

त्यसैगरी खुल्ला महिला सदस्यतर्फ काँग्रेसबाट पार्वती खड्का, जसपाबाट जसना राजबंशी, क्षेत्रगत उम्मेद्वारीमा वडा नम्बर ३, ४ र ५ बाट काँग्रेसका केदारजंग भट्टराई , ६ नम्बर वडाबाट माओवादी केन्द्रका तर्फबाट शेरबहादुर थापा ९शेखर काजी० तथा वडा नम्बर ७ र ८ बाट काँग्रेसका सुरेश भट्टराईको चुनावी मैदानमा छन् भने । लेखा संयोजकमा जसपाबाट कृष्ण कट्टेल, महिला सदस्यमा जसपाबाट मिरा कार्की र खुल्ला सदस्यतर्फ इन्दिरा बुढाथोकी अधिकारीले उम्मेद्वारी दिएका छन् ।

जीतको लागि मैदानमा होमिएको संयुक्त गठबन्धनका तर्फबाट उपाध्यक्ष पदमा गोविन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला र कोषाध्यक्षमा हेमा सिटौलाले उमेद्वारी दिएका छन् । त्यस्तै खुल्ला महिला सदस्य पदमा दुर्गादेवी भेटवाल, मिनमाया लिम्बू सुब्बा, सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले र नारायण काफ्ले छन् । लेखा समिति संयोजकमा जीवन थापा तथा सदस्यहरुमा सीता राई र टोलबहादुर सुनार ‘नारायण’ उम्मेद्वारी दिएका छन् ।

अध्यक्षका पदका उम्मेद्वार पराजुली एमाले ओली समूहका हुन । उपाध्यक्ष पदका उम्मेद्वर गिरी र कोषाध्यक्षका उम्मेद्वार सिटौला एमाले माधव नेपाल समुहका हुन भने सचिवका उम्मेद्वार निरौला राप्रपाका हुन ।

यस्तै संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट उपाध्यक्ष पदमा राजु चेम्जोङ, सचिवमा चन्द्रकुमार राई र कोषाध्यक्षमा भवानी महत तथा सदस्यहरुमा प्रकाश गुरुङ र भवानी विक्रम तुम्वाहाम्फे चुनावी मैदानमा होमिएका छन् । उता स्वतन्त्र उम्मेद्वारको रुपमा उपाध्यक्ष पदमा कृष्ण सुवेदी चुनावी मैदानमा छन् । उनि यसपटकको खानेपानी चुनावमा स्वतन्त्रका तर्फबाट एक्ला उम्मेद्वार हुन ।काँकरभिट्टा माविको परिसरमा विहान ८ बजेदेखि बेलुका ५ वजेसम्म मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु