बिएण्डसीले एक सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने

2021-04-12 मा प्रकाशित

बिर्तामोड । बिएण्डसी अस्पतालले एक सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा गर्ने भएको छ ।

अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापाका विभिन्न ठाउँका एक सय परिवारको स्वास्थ्य विमा गर्ने घोषणा गरेका थिए । उनले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य विमा गर्न लागिएको बताएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले विपन्न तथा पछाडिएको समुदायका नागरिकलाई प्राथमिकतामा राखेर बीमा गरिने जानकारी दिए ।

‘जुन समुदाय राज्यको पहुँचभन्दा बाहिर छ, त्यो समुदायलाई विशेष प्राथमिकतामा राखिनेछ’, निर्देशक प्रसाईंले भने, ‘सन्थाल, मेचे, मुसहर, उरावलगायत पछाडि परेको र विपन्न परिवारलाई अस्पतालले निःशुल्क बीमा गरिदिन्छ’ – प्रसाईले भने । प्रत्येक परिवारका लागि तीन हजार ५ सय रुपैयाँ खर्च गरेर बीमा गरिने अस्पतालले जनाएको छ ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममार्फत पैसावालाले फाइदा लिइरहेकाले विपन्नवर्गका नागरिकको स्वास्थ्य बीमा गरिन लागेको प्रसाईंको भनाइ छ । अस्पतालको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बीमा गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

यसैबीच, सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै अस्पतालले करिब अढाइ करोड रुपैयाँको लागतमा बिर्तामोड २ को मोहनमाया माविको भवन निर्माण सम्पन्न गरेको गिरीले जानकारी दिए ।

त्यस्तै, अर्जुनधारा ६ को लक्ष्मीपुर मावि र अर्जुनधारास्थित खुदुनाबारीको जनता माविको भवन निर्माण पनि अस्पतालले गरिदिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु