कोरोना संक्रमण बढयो , मेचीनगर र बिर्तामोड उच्च जोखिममा

2021-04-19 मा प्रकाशित

मेचीनगर, ६ वैशाख । झापामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढ्न थालेको छ । सोमवार एकै दिन जिल्लामा १९ जना संक्रमित थपिएका छन् ।
मेचीनगर र विर्तामोड संक्रमणको उच्च जोखिममा परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार सोमवार थपिएका सबै संक्रमित एन्टीजेन विधिबाट कोरोना पोजेटिभ देखिएका हुन् । जसमा सबैभन्दा बढी विर्तामोडमा चार महिला र चार पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।भारतबाट आएका एक जना समेत गरी मेचीनगरमा २ जनामा संक्रमण पुष्टि भएको छ । दमकमा २ जना, भद्रपुरमा ३ जना, कनकाईमा ३ जना र झापा गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ । चौलागाईले संक्रमणको लहर बढ्दै गएको हुँदा सर्वसाधारणले सतर्कता अपनाउनु पर्ने सुझाव दिए । घर बाहिर हिँड्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने र भीडभाड गर्न नहुने नियम पालना गर्न उनको सुझाव छ ।

झापामा हालसम्ममा ४६७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ४५०७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । जिल्लामा अहिलेसम्ममा १२९ जनाको मृत्यु भइसकेको र ६२ जना आइसोलेसनमै रहेका छन् । पछिल्लो समय कोरोना भित्रिने डरले सरकारले सीमा क्षेत्रमा सतर्कता बढाएको छ । काँकरभिट्टा नाकामा होल्डिङ सेन्टर स्थापना गरिएको छ भने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले भारतबाट आउनेहरुको विशेष चेकजाँच र निगरानी गरिरहेका छन् । काँकरभिट्टा नाकामा कोरोनाको दोस्रो लहर सुरु भएयता १८५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

जसमध्ये ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । आइतवार एकैदिन नाकामा ८ जनामा कोरोना पोजेटिभ भेटिएका थिए । तीमध्ये २ जना मेचीनगरकै थिए । मेचीनगर स्वास्थ्य कार्यालयले नाकामा कोरोना जाँचका लागि सात जना स्वास्थ्यकर्मी खटिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु