समाधि स्थल भत्काएको विरोधमा किरात समुदायले बुझाए ज्ञापन

2021-04-29 मा प्रकाशित

काँकरभिट्टा । किरात जातिको समाधि स्थलमा डोजर लगाएर भत्काएको भन्दै काँकरभिट्टाका किरात समुदायले विहीवार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

धार्मिक संस्कार र पित्रीहरुसँगको भावनात्मक नाता गासिएको पवित्र समाधि स्थल भत्काइएपछि आक्रोशित बनेका किरात समुदायका मानिसहरु ज्ञापन पत्र बुझाउन ठूलो संख्यामा नगरपालिका पुगेका थिए ।

मेचीनगर पालिकाले मेची पुल दक्षिण पट्टी रहेको समाधि स्थल विओपी स्थापनाको लागि भत्काएको उनीहरुको भनाइ छ । कार्यक्रमको सञ्चालन नेपाल आदिवासी जनजाती महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङले गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेचीनगर पूर्व अध्यक्ष एवम् किरातराई यायोक्खा जिल्ला सचिव केवलराम राईले धार्मिक आस्थामाथि प्रहार तथा जातीय विभेद गरेकोले स्थानीय सरकारले न्यायनदिए चरणबद्व आन्दोलन गर्ने र कानुनी उपचार खोज्ने बताए ।

उनले सदियौँदेखि किरात समुदायले बनाएको समाधि स्थल तथा उनीहरुको आस्थाको केन्द्र कसैलाई जानकारी नदिकन नगरपालिकाले भत्काएकोले तत्काल त्यसको पूनःनिर्माण गरिनु पर्ने उनको माग थियो । चिर निन्द्रमा रहेका आफ्ना पुर्खाको समाधिमा नगरपालिकाले डोजर लगाएर नगरले केपायो रु उनले प्रस्न गरेका थिए । सो क्षेत्रमा १५० देखि २०० समाधि राखिएको उनको भनाइ छ ।

ज्ञापनपत्र अध्यक्ष खापुङले नगर प्रमुख बिमल आचार्यलाई बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख आचार्यले यस घट्नाले आँफुलाई दुःखी बनाएको र यस विषयमा सर्वपक्षिय छलफल गरी वास्तविक कुरा बाहिर ल्याउने र समस्या समाधान गर्ने प्रतिवद्घता व्यक्त गरे ।

सो अवसरमा उपप्रमुख मीना पोखरेल उप्रेतीको समेत सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझाउन किरात समुदायका हर्क फ्याक सुब्बा, हस्त आङदेम्बे, जीवन सुब्बा, दिलिपजंग सुब्बा लगायत विभिन्नि संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

उनीहरुले मेचीनगर–६ वडा कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका थिए । नेकपा एमाले मेचीनगर कमिटी, नेपाली काँग्रेस मेचीनगर समिति, नेकपा माओवादी केन्द्र मेचीनगर, जसपा र राप्रपा मेचीनगर समितिलाई बोधार्थ पठाईएको ज्ञापन पत्रमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु