सस्तियो हवाई भाडादर

2021-05-01 मा प्रकाशित

मेचीनगर, १८ वैशाख । भद्रपुरबाट काठमाडौंसम्मको हवाई उडानको भाडादर इतिहासकै सस्तो भएको छ ।

अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार शनिवारको भद्रपुर–काठमाडौं उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले १५०० रुपैयाँ, यति एयरले १३९५ रुपैयाँ, सौर्य एयरले १४०० रुपैयाँ र श्री एयरले १४०० रुपैयाँ तोकेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण उच्च विन्दुमा पुगिरहेको बेला भद्रपुरबाट राजधानी जाने यात्रु घटेका कारण भाडादर अहिलेसम्मकै कम भएको हो । सामान्यतया भद्रपुर–काठमाडौंको भाडादर न्यूनतम् ३००० रुपैयाँ रहने गरेको छ ।

‘कोरोनाको सङ्क्रमणको त्रास बढेको कारण राजधानी जाने क्रम ह्वात्तै घटेको छ,’ खनालले भने–‘काठमाडौंबाट आउनेहरुको भने चाप बढेको छ ।’ काठमाडौंबाट भद्रपुर आउँदाको हवाई भाडादर बढेर ४००० देखि ९२५० रुपैयाँसम्म पुगेको छ ।

भद्रपुरको चन्द्रगढी विमानस्थल २०२८ सालमा स्थापना भएको हो । तर २०३० सालमा आन्तरिक कारणबाट विमानस्थल बन्द भयो ।त्यसपछि एकैचोटी २०४८ साल चैत १८ गते मात्र विमानस्थल खुलेको थियो ।

२०४८ सालमा विमानस्थल खुलेको पहिलो दिन आफुले नै १७८० रुपैयाँमा शाही नेपाल वायु सेवा निगमको जहाजको टिकट काटेको स्मरण गर्दै अनिमेष ट्राभल्सका सञ्चालक खनालले भने–‘भद्रपुर–काठमाडौं रुटको आजको भाडादर इतिहासमै सबैभन्दा सस्तो हो ।’

कोभिड–१९ को महामारी र निषेधाज्ञाको अवस्थाका कारण यात्रु घटेको जनाउँदै एयरलायन्सहरुले हवाई उडान समेत कटौति गर्न थालेका छन् ।

शुक्रवारदेखि भद्रपुर–काठमाडौं रुटमा बुद्ध एयरले दैनिक पाँच उडानमध्ये दुई उडान कटौति गरिसकेको छ । यति एयरले तीन उडानमध्ये एउटा कटौति गरेको छ । श्रीएयरका दुई र सौर्य एयरको दैनिक एक उडान कायमै छ ।

यस अघि हरेक दसैं–तिहारका बेला काठमाडौंबाट आउने यात्रु अत्यधिक हुने तर जाने यात्रु घट्ने भएका कारण हवाई सेवा प्रदायक कम्पनीहरुले भद्रपुर–काठमाडौंको भाडादर घटाएर १६०० रुपैयाँसम्म पुर्याउने गरेका थिए ।

राससबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु