कोभिड, कर्पोरेटको स्वार्थ र हाम्रा मिडिया

2021-05-06 मा प्रकाशित

गोविन्द न्यौपाने

स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमण भयावह वन्दै गएको अवस्थामा अस्पतालमा वेड उपलव्ध नहुने सूचना जारी गर्ने वित्तिकै सरकारको आलोचना सुरु भयो । सरकार अथवा अभिभावकले नै विपतका अवस्थामा अझ विरामी भएको अवस्थामा आफ्ना परिवारका लागि अस्पतालको सुविधा उपलव्ध गराउन नसक्ने भन्नु गैर जिम्मेवार र जवाफदेहिता विहिन भएको अवस्था नै हो ।

अर्कोतिर कोभिडको सङ्क्रमण दर यसैगरी वढ्दै जाने हो भने अस्पतालमा वेड त के अस्पतालमा विरामीका लागि करिडर समेत उपलब्ध हुन नसक्ने कुरा पनि सत्य हो । केही दिन पहिला काठमाडौमा भेन्टिलेटर उपलव्ध हुन नसकी एक सङ्क्रमित झापा ल्याइएको समाचार पढ्दा र अस्पतालमा औषधि उपकरण, पूर्वाधार र जनशक्ति सवै हेर्दा स्वास्थ्य मन्त्रालयको भनाइले आम मानिसलाई आशाको सञ्चार नगरे पनि जमिनी हकिकत त्यही नै वुझिन्छ ।

छिमेकी भारतमा भएको स्वास्थ्य प्रणाली नै कोरोनाले ध्वस्त वनाइसकेको छ । जहाँ औषधि, उपकरण, जनशक्ति पर्याप्त भएको अवस्थामा समेत त्यहाँको स्वास्थ्य प्रणाली नै क्षतविक्षत हुनेगरी कोभिडको तवाह मच्चिएको छ । यही भारतको वाछिटा नै हाम्रा लागि भयावह हुने देखिन्छ । भारतमा कोभिडका समयमा गरिएको चुनाव प्रचार प्रसार, कुम्भ मेला लगायतका भिडभाडका गतिविधि कोभिड वढाउने प्रमुख कारक नै हुन् भन्नेमा विमति राख्नु नपरे पनि यी अव इतिहासका विषय भए ।

जुन भूल भयो अव त्यसलाई सुधार्न सकिदैन । हिजो छिमेक विरुद्ध ठुला ठुला कुरा गर्ने, विश्वलाई हिन्दुस्तानले नेतृत्व गर्छ भनेर टेलिभिजनहरुमा चिच्याउनेहरुले आज सहयोगको याचना गर्नुको विकल्प छैन । एक सानो गल्तीले देश नै अस्तब्यस्त वनाउन सक्छ भन्ने यो भन्दा ठूलो उदाहरण अरु के नै होला । अव यी सवै विषय हाम्रा लागि भने शिक्षा हुन सक्छ ।

शिक्षा लिनका लागि पनि असल शिष्यको आवश्यकता पर्दछ । भारतमा कोभिड सङ्क्रमण तिव्र हँुदै गर्दा नेपालमा यसको प्रभाव पर्ने निश्चित नै थियो । आम मानिसदेखि सरकारमा वसेकाहरुलाई भारतसँगको वहुपरनिर्भरता थाहा नभएको हैन । तर कोभिड विरुद्धको तयारीमा भन्दा सरकारको सुरक्षाका लागि तयारी सरकारले गरेको नै हो । सारा समय पार्टीको आन्तरिक गुटवन्दीमा विताएको सत्य नै हो । अलिक वँचेको समयमा स्वास्थ्य पूर्वाधार र जनशक्तिको हकमा भन्दा सड्क, धरहरा, भ्यूटावर जस्ता क्षेत्रमा प्राथमिकता दिइएको नै हो ।

स्थानीय सरकार समेत यसैको सिको गरेर महत्वाकांक्षी योजना वनाउने तर कुनै पूरा नगर्नेतिर लागेको देख्दा समेत स्थानीय सञ्चार माध्यमहरु वरु तिनै महत्वाकांक्षी योजनाको वारेमा सकी नसकी प्रचार गर्नतिरे लागेकै हो । हिजो अव कुनै विपत आउँदैन जस्तो गरेर होमा हो मिलाउने, जनप्रतिनिधि, सञ्चार माध्यमहरु आज जतिसुकै कराए पनि त्यसको कुनै तुक हँुदैन । अव ढिला भइसक्यो अव नागरिक तहवाट नै सुरक्षाको उपाय अवलम्वन गर्नुको विकल्प छैन ।

स्थानीय सञ्चार माध्यमहरुले स्थानीय समस्यामा ध्यान केन्द्रित गर्नुपर्ने भए पनि स्थानीय रुपमा आम मानिसले झेल्दै आएका समस्याप्रति वेखवर जस्तो देखिए । यस वर्ष लगाएको धानवालीमा गवारोको प्रकोप, खोरेतले गर्दा पशुधनमा भएको क्षति, खडेरीका कारण मकैको उत्पादनमा हुने कमी र किसानलाई पर्ने मार, मकैवालीमा लाग्ने रोग आदि जस्ता सामान्य कृषकहरुका समस्यामा सञ्चार माध्यमहरुले कमै मात्र नजर लगाए । किनकि यसवाट समाचार मात्र वन्ने थियो, कर्पोरेटहरुको प्यारो हुन सकिने थिएन ।

यी समस्याहरुसँग जुध्नु त आम मानिसको नियति नै भएको छ । यसैमा अव कोभिडको मार थपिने निश्चित छ । यो सत्य हो स्वास्थ्य सुविधामा पहुँच वढाउन त सकिदैन तर स्वास्थ्य सचेतना त वढाउन सकिन्छ । त्यसतर्फ पनि स्थानीय सरकारहरुले झारो टार्ने कार्य मात्र गर्दै आएका छन् । स्थानीय सरकारसँग दलहरु छन्, तिनका तल्लो निकायसम्म आफ्ना संगठनहरु रहेका छन् । यस्तै नगर र गाउँपालिकाहरुमा टोल विकास संस्थाहरु छन् । यी सवै उल्लेखित संस्था र संगठनलाई मात्र कोभिडको वारेमा सहि सूचना सम्प्रेषण गर्ने हो भने पनि धेरै मानिसलाई संक्रमणवाट वचाउन सकिन्छ भन्ने चेतना नहुनु पनि दुःखद् छ ।

हाम्रो स्वास्थ्य प्रणाली, कोभिडको विरुद्धमा तयारी, औषधी उत्पादन र वितरण, स्वास्थ्यकर्मीको संख्या र तिनले दिने सेवा सवैको अवस्था मूल्याङ्कन गर्ने हो भने तत्कालका लागि सरकारले सवै नागरिकलाई स्वास्थ्य सेवा दिन्छु भनेर भने पनि विश्वास गर्न सकिदैन । त्यसैले यस्तो वेलामा उपचारको आशा गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन नगर्नु ठुलो भूल हुनेछ भन्ने कुरा मात्र स्थानीय सञ्चार माध्यमहरुले सूचना प्रवाह गर्न सक्ने हो भने सञ्चार माध्यमको धर्म निर्वाह गरेको मानिनेछ ।

हुन त जहाँ मास्क, हेल्मेट लगायतका ब्यक्तिगत सुरक्षाका साधनहरु प्रयोग गर्न समेत प्रहरीको सहारा लिनु पर्छ भने सूचना प्रवाह कतिको प्रभावकारी हुने हो भन्न कठिन छ । तर सवै नागरिक कुनै न कुनै दल, संगठन या समूहमा आवद्ध नै छन् यस्तो अवस्थामा ती संघ संगठनका मुखियाहरुको समेत सूचना प्रवाहमा ठूलो भूमिका हुने नै छ । आज हाम्रो जटिल अवस्थाको आफै मैल्याङ्कन गर्ने, विज्ञहरुका सल्लाह र सुझावलाई अक्षरस पालन गर्ने हो भने केही हप्ता भित्रमा अवस्था सामान्य गर्न सकिएला । हाट वजार खुल्ला राख्ने, पुराण, विवाह जस्ता भारी जमघट कायमै राख्ने हो भने अवस्था कठिन मात्र हैन नियन्त्रण वाहिर जाने निश्चित छ ।

(लेखक मेचीनगरका नागरिक अभियन्ता हुन् ।)

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु