झापामा सिलिन्डर खोज्न प्रहरी परिचालन

2021-05-08 मा प्रकाशित

झापा, २५ वैशाख । लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न झापामा प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ ।

मेडिकल बाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

कोभिड–१९ को महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्याएको छ ।

दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स र जलकन्या ट्रेडर्समा ती सिलिन्डरहरु रिफिलका लागि पठाइएको थापाले जानकारी दिए । उनले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिसिम्नाले सङ्कलन गरिएका सिलिन्डरहरु निजी तथा सरकारी अस्पतालमा विरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने बताए ।

‘जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौं,’ प्रजिअ तिम्सिनाले भने–‘अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्धाका सिलिन्डर सङ्कलन गर्न थालेका हौं ।’

झापा जिल्लामा आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेका छन् । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ शैय्याको कोभिड अस्पतालमा ५० शैय्या सङ्क्रमितले भरिइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु