मेचीनगर कोरोनाको ‘हटस्पट’ बन्दै

2021-05-10 मा प्रकाशित

झापा, २७ वैशाख । मेचीनगर नयाँ भेरियन्ट संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ ।

पूर्वको मुख्य नाका काँकरभिट्टा कोरोना संक्रमणकै कारण तीन जनाको ज्यान गईसकेको छ । अरु वडाको तुलनामा मेचीनगर–६ नम्बर वडा धेरै जोखिममा छ । यो वडामा १५ जना संक्रमित छन् ।

गतवर्ष पनि कोभिड–१९ महामारीको संक्रमणले थला पारेको मेचीनगर । यसवर्ष पनि नगरमा कोभिडको नयाँ भेरियन्टको संक्रमण दर उच्च छ । संक्रमण तिव्र रुपमा फैलिंदै जाँदा संक्रमितको संख्या पनि झन बढ्दै गएको छ । आइतबार मात्र मेचीनगरमा २० जना संक्रमित थपिएका छन् ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामनारायण यादवले हालसम्म नगरमा १५० जना संक्रमित रहेको बताए । उनका अनुसार सबै भन्दा धेरै संक्रमित वडा नम्बर १० मा र सबै भन्दा कम वडा नम्बर १४ मा छन् ।

वडा नम्बर १० मा २८, त्यसपछि वडा नम्बर ९ मा २३ जना र वडा नम्बर १४ मा १ जना संक्रमित रहेको यादवले जानकारी दिए । १५ वटा वडामध्ये वडा नम्बर ३ मा अहिलेसम्म संक्रमित नभएको उनले स्पष्ट पारे ।

त्यस्तै वडा नं। १ मा ७ जना, वडा नं।२ मा ८ जना, वडा नं। ४ मा ४ जना, वडा नं। ५ मा ३ जना, वडा नं। ७ मा १२ जना, वडा नं।८ मा ७ जना, वडा नं। ११ मा ५ जना, वडा नं। १२ मा ४ जना, वडा नं। १३ मा ८ जना र वडा नं। १५ मा ६ जना संक्रमित छन् ।

पहिलो लहरदेखि हालसम्म पूर्वी नाका काँकरभिट्टाबाट ९ लाख ९० हजार मानिस नेपाल भित्रिएका थिए । दोस्रो लहरको संक्रमण सुरु भएदेखि ४७८ जनाको एन्टिजेन जाँच गर्दा ३२ जनामा एन्टिजेन देखिएको उनले बताए ।

स्वास्थ्य शाखाको तथ्याङले पनि मेचीनगरमा कोरोनाको ‘हटस्पट’ बन्दै गएको स्पष्ट हुन्छ । यादवका अनुसार गतवर्ष चार हजार २५६ जनाको स्वाब संकलन गरेको मध्ये ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १२ जनाले ज्यान गुमाएका थिए ।मेचीनगरले कोभिडको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ । त्यस्तै प्रत्येक वडाहरुमा फोकल पर्सन, द्रुत प्रतिकार्य टोली, कोभिड नियन्त्रण तथा रेकथाम सचिवालय, नयाँ बसपार्कमा एकहजार वेडको होल्डिङ सेन्टर, कोरोनाको लक्षण देखाए तुरुन्त सेवा दिने टोली, अक्सिजनसहित सिलिण्डरको व्यवस्था गरेको छ ।

धाइजनमा ३० वेडको आईसोलेसन सेन्टर, होम आइसोलेसनमा आवश्यक पर्ने सामाग्री, सचेतना कार्यक्रम, वडा नम्बर १५ देखि १ नम्बर वडाको पाटापुरसम्म टोल विकास समिति, सशस्त्र र जनपद प्रहरी लगायतलाई खटाईएको नगरपालिकाले जनाएको छ । लोकतन्त्रबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु