समग्र वडाको विकासमा जुटेका छौँ’ – वडाध्यक्ष तामाङ

2021-05-15 मा प्रकाशित

डम्बर बराल

मेचीनगर, १ जेठ । भौगोलिक रुपमा विकट वडाको रुपमा रहेको मेचीनगर–१ मा पछिल्लो समय विकासको क्रमले गति लिन थालेको छ ।

२० वर्षसम्म जनप्रतिनिधि नहुँदा ओझेलमा परेको सो क्षेत्रमा ४ वर्ष यता ठूलो बजेटमै काम गर्दा पनि जनता भने प्रत्यक्ष रुपमा अझै लाभान्वित हुन सकेका छैनन् ।साविक बाहुनडाँगीको ७, ८ र ९ नम्बर वडालाई समाहित गरेर बनेको १ नम्बर वडा मेचीनगरको सबै भन्दा उच्च पहाडी क्षेत्र हो । भुगोलको हिसावले विकट मानिएको सो वडामा जनप्रतिनिधि आएसँगै वडाको समग्र विकासले गतिलिन थालेको वडाध्यक्ष पासाङ तामाङले बताए ।

सो वडाका सम्पूर्ण सडक स्तरउन्नती गरिएका छन् भने मुख्य तथा भित्रि सडक कालोपत्रे गर्ने अभियान थालिएको वडाध्यक्ष तामाङले बताए । वडाले सडक निर्माण तथा स्तरउन्नति, विजुली, खानेपानी, स्वास्थ्य, र शिक्षामा एकसाथ कार्यक्रम अघि बढाएको उनको भनाइ छ । जनप्रतिनिधि आउनु अघि यस क्षेत्रका कुनैपनि सडक ग्राभेल गरिएको थिएन।

‘हामी निर्वाचित भएर आएपछि भौतिक पूर्वाधारको विकासमा जुटेका छौँ’, वडाध्यक्ष तामाङले भने–‘तर थोरै बजेटमा धेरै काम सम्पन्न गर्नु पर्दा सोचे अनुरुप वडाको विकास हुन सकेको छैन । आगामी एक वर्ष भित्रमा परिणम राम्रै आउने छ । वडाले हालसम्म सम्पूर्ण सडक स्तरउन्नती गरी ग्राभेल गरिसकेको र अघिल्लो वर्षबाट कालोपत्रे अभियानमा लागेका छौँ ।’मेचीनगर–४ को आलडाँगीदेखि उत्तर ५ं दशमलव ४ किलोमिटर सडक सांसद विकास कोषबाट १ वर्ष अघिदेखि कालोपत्र सुरु गरिएको बताउँदै वडाका भित्रि सडक समेत यसैवर्षको अन्त्य सम्ममा कालोपत्र सुरु हुने तामाङले जानकारी दिए । त्यसैगरी मदन भण्डारी मार्गमा पर्ने शान्तिनगरदेखि पूर्व मेचेडाँगी सम्मको क्षेत्रमा कालोपत्र निर्माणको लागि ठेक्का लागिसकेको र चाँडै निर्माणको काम सुरु हुने उनले बताए ।

योसँगै मेचीनगर–२ भृकुटी उत्तर गोकुल मार्गको माथिल्लो भाग २ दशमलव ५ किलोमिटर सडक आगामी वर्ष पुरा हुँने वडाध्यक्ष तामाङको भनाइ छ । वडामा सानाठूला पुल समेत निर्माण भइरहेका छन् । तिरिङ पुलको डीपीआर भइसकेको र करिव ६५ लाखको लागतमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको उनले बताए ।

सो क्षेत्रका जनता खानेपानीको समस्याबाट भने अझै मुक्त हुन सकेका छैनन् । खानेपानीको चरम संकट रहेको सो वडाको लागि पानीको भरपर्दो श्रोत सिद्धि नहर खानेपानी परियोजना नै हो तर आर्थिक अभावमा परियोजनाको काम समेत अघि बढ्न सकेको छैन । सिद्धि खोला बाहुनडाँगी बृहत खानेपानी आयोजनाको काम अघि बढाउन संघीय सरकारबाट ३३ करोड बजेट स्वीकृत भइसकेको तर पर्याप्त बजेट नआउँदा सम्भाव्यता अध्ययन मात्र पुरा भएको छ भने रकमको अभावमा काम अघि बढ्न सकेको छैन ।सो वडामा हाल विभिन्न खानेपानी उपभोक्ता समितिले क्षेत्रगत रुपमा खानेपानी वितरणको काम गरिरहेका छन् तर पानीको भरपर्दो श्रोत नहँुदा सवै क्षेत्रमा पिउने पानी पुग्न सकेको छैन् । पानीको समस्या हल गर्न वडाले हाल सम्म १० वटा रिजर्व टेङकी निर्माण गरेको छ । आगामी दिनमा खानेपानी को व्यवस्थापनमा दीर्घकालिन समस्या हल गर्ने गरी काम गर्ने योजना रहेको वडा सचिव प्रेम पराजुलीले बताए । उनले भने ‘यहाँका जनताले शुद्ध पिउने पानी पाउन सकेका छैनन् । हामी पानीको अति संकट भएको ठाउँमा क्रमशः खानेपानी व्यवस्थापनको काम गर्दै जानेछौँ ।’

वडाले यसवर्ष वडाको दलित बस्तीमा खानेपानी व्यवस्थापनको लागि २ लाख रकम विनियोजन गरेको उनले बताए । वडामा ९० प्रतिशत विद्युत विस्तारको काम सम्पन्न भइसकेको वडाले जनाएको छ । वडाको सवै क्षेत्रमा विजुली पुर्याएका छौँ तर पछिल्लो समय घरविस्तार भएका ठाउँमा थप केहि पोल तथा तार आवश्यक रहेको र सो कामको लागि उपभोक्ता समिति समेत गठन भइसकेको वडा सचिव पराजुलीको भनाइ छ ।

यस वडाको अर्को ठूलो समस्या हो जंगली हात्ती । जंगली हात्तीबाट प्रताडित हुँदै आएका वडावासी पछिलो समय फेन्सीङसँगै जनता तटबन्धको काम सुरु भएपछि राहात महसुस गर्न थालेको वडा सदस्य डिकेन्द्र थापाले बताए । मेची नदीमा जनता तडबन्धनको काम सुरु भएपछि हात्ती नेपाल भित्रिन कमि आएको उनको भनाइ छ । ‘तटबन्धन पछि अन्य क्षेत्रबाट हात्ती नपसेपनि सारु गौडाबाट छिर्दै छन् । त्यसैले सो क्षेत्रमा सडकबत्ति आवश्यक छ, सडकबत्ति भए हात्तीबाट हुने जोखिम कम हुन्छ’, उनले भने ।

उनले सडक बत्तिको लागि मेचीनगरपालिकासँग अनुरोध गर्ने बताए । सो वडामा तीनवटा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । देवीगञ्ज क्षेत्रमा जोरधारे हिलेडाँडा ९हिलेधाप० सिमसार रहेको छ भने वडाको दक्षिण सीमामा सिद्देश्वर धाम रहेको छ । त्यसैगरी पूर्व उत्तर दिशामा प्राचिन ईतिहास बोकेको धार्मिक क्षेत्र कृष्ण थुम्की रहेको छ । नगरकै सवैभन्दा अग्लो भूभागमा रहेको सो धामिक तथा पर्यटकीय क्षेत्रको विकास अझै हुँन सकेको छैन । वडाको गहनाको रुपमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारको विकास गर्न सके वडाको लागि आम्दानीको भरपर्दो श्रोत बन्ने वडा सदस्य थापाको भनाइ छ ।

साविक बाहुनडाँगी क्षेत्रमा सिँचाइको समेत समस्या छ ।सो क्षेत्रको लागि सिँचाईको भरपर्दो आधार सिद्धिखोलानै हो । तीन वर्ष अघिदेखि नहर मार्फत सिद्धिको पानी ल्याएर सिँचाइको प्रवन्ध मिलाइएको भएपनि मुहानमा संरचना निर्माणको कामले पर्याप्त पानी ल्याउन नसकिएको सिद्धिखोला सिँचाई जल उपभोक्ता संस्थाका अध्यक्ष निलकण्ठ तिवारीले बताए । ‘यसलाई व्यवस्थित गर्न सके साविक बाहुनडाँगी मात्र होइन मेचीनगरको ५, ७ र ८ नम्बर वडामा समेत पानीको अभाव हुँदैन’, अध्यक्ष तिवारीले भने–‘ सिद्धिको पानी ल्याउन १३ सय मिटर सुरुङ खन्नु पर्ने तथा १५ किमि वन क्षेत्र छिचोल्नु पर्ने भएकोले खानेपानी व्यवस्थापनमा भने ठूलो रकम खर्चिनु पर्नेछ ।’

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु