आइसोलेसन सेन्टरमा एक्स–रे मेसीन जडानको तयारी , संक्रमितका लागि घर घरमा औषधि पुर्याउदैं जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु

2021-05-19 मा प्रकाशित

मेचीनगर ५ जेठ ÷ मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका कोभिड १९ संक्रमितहरुलाई मध्यनजर गदैं नगरभित्र एक्स–रे मेसिन सञ्चालनको तयारी गरेको छ । कोरोनाको महामारीका बेला नगरपालिकाले सञ्चालनमा ल्याएको ३० वेड र होम आइसोलेसनमा रहेका संक्रमितमा निमोनिया छ कि छैन भनेर परीक्षण गर्न छातीमा संक्रमणको निदान गर्न एक्स–रे अनिवार्य भए पनि अहिले नगरमा एक्स–रे मेसिन नभएपछि धेरै विरामी एक्स–रे गर्नकै लागि मेची प्रादेशिक अस्पताल भद्रपुरसहित अन्य निजी अस्पताल धाउन बाँध्य भएको भन्दैं नगरपालिकाले एक्स–रे मेसिन सञ्चालनको तयारी गरेको हो ।

निजी क्लिनिकले त कोभिड १९ संक्रमित भन्ने वित्तिकै एक्स–रे गर्न नमान्ने गरेका कारण विरामीहरु सास्ती व्यहोर्न बाँध्य छन् । विरामीलाई सुविधा होस भनेर नगरपालिकाले मेची प्रादेशिक अस्पताल भद्रपुरसँग सहकार्य गरेर मेचीनगरले धाइजनमा सञ्चालन गरेको ३० बेड र ३० वटा सिलिण्डरसहितको आइसोलेसन वार्डमा एक्स–रे मेसीन जडान अन्तिम चरणमा पुगेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो । साथै नगरपालिकाले शव वाहन पनि सञ्चालनमा ल्याएको बताइएको छ ।

नगरप्रमुख आचार्यले नगरपालिकाले कोभिड १९ नियन्त्रण र रोकथामका लागि सवै संयन्त्र परिचालन गरेको र प्रत्येक संक्रमितहरुका घर घरमा औषधि लिएर स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु पुग्ने गरेको बताउनुभयो । स्थानीय सरकारले कोभिड नियन्त्रण कार्यदल गठन गरेरै हरेक वडा वडामा फोकल पर्सनको व्यवस्था गरेको उहाँको भनाई छ । तर, आइसोलेसनमा बस्न मापदण्ड पुरा गर्नुपर्ने उहाँको भनाई छ । नगरस्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिका संयोजक समेत रहनु भएका नगरप्रमुख आचार्यले अहिले आइसोलेसन केन्द्रमा एक जना चिकित्सक, दुई जना स्टाफ नर्स र दुई जना सहयोगी स्वास्थ्यकर्मीको व्यवस्था गरेको जानकारी दिनुभयो । यदि यस केन्द्रका वेड अपुग भएमा मेचीनगर—१० स्थित आम्दा मेची अस्पताल धुलावारीको माथिल्लो तलामा समेत व्यवस्थितढंगले संक्रमितको उपचार गर्न सकिने गरी तयारी गरिरहेको उहाँको भनाई छ ।

नगरपालिकाले नगरभित्रका संक्रमितहरु जो होम आइसोलेसनमा बसेका उनीहरुका लागि तत्काल चाहिने औषधि तथा साना खाले अक्सिजन ग्यासको व्यवस्था मिलाएको छ । संक्रमितहरुका लागि आवश्यक औषधि नगरपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुमार्फत घर घरमै पुर्याउने र श्वास फेर्न कसैलाई गाहे भए तत्काल सानो खालको अक्सिजन ग्यास समेत उपलब्ध गराउने उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । १५ वटै वडामा सम्बन्धित वडाको वडाध्यक्षको संयोजकत्वमा वडा स्तरीय र हरेक टोल विकास संस्थासँग समन्वय र सहकार्य गरेर टोल टोलमा ‘र्यापिट रेस्पोन्स टिम’ खडा गरेको उहाँको भनाई छ ।

मेचीनगरकाका सबै वडा स्तरीय स्वास्थ्य चौकी प्रमुखलाई वडागत कोभिड फोकल पर्सन तोकेको छ । कुनै पनि नगरवासीलाई कोभिड १९ को लक्षण देखा परे उपचार गर्न अस्पताल लैजानु पर्ने भएकाले नगरपालिका परिसरमा दुईवटा एम्बुलेन्स तयारी अवस्था राखिएको र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, दिन विराएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्ने, कसैलाई कुनै अप्ठ्यारो परे तत्काल नगरपालिकामा सम्पर्क गर्न फोकल पर्सनको व्यवस्था गरी सम्पर्क नम्बर समेत सार्वजनिक गरेको नगरपालिकाको भनाई छ । कोभिड १९ को दोस्रो लहरले भयावह स्थित निम्तियाउन सक्ने कुरालाई मध्यनजर गरी नगरपालिकाले अत्यावश्यक बाहेकको सवै सेवा स्थगित गरेको छ । अहिले नगरपालिकाले परीक्षणको दायरा बढाएको छ । मेचीनगर नगरपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण र उपचारमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र उपचारमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन स्वरुप कामको प्रकृति अनुसार आधार तलवको ५० र ३० प्रतिशत हुने गरी भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

‘हामीले कोभिड नियन्त्रण र उपचारका लागि काम गर्न प्रोत्साहन गर्नु पर्छ भन्ने ठानेर थप भत्ता उपलब्ध गराउने निर्णय गरेका छौं’, उपप्रमुख मीना पोखरेल उप्रेतीले भन्नुभयो, ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भए सबैको उपचारमा लाग्ने आइसियु, एचडियु, भेन्टिलेटर लगायत सबै उपचार खर्च पनि नगरले ब्यहोर्ने निर्णय गरेका छौं ।’

मेचीनगर–१३ की कोरोना संक्रमित गर्भवती महिलाको स्वास्थ्य अवस्थामा जटिल नहोस भनेर नगरपालिकाले एम्बुलेन्सलगायतका अन्य जनशक्ति व्यवस्थापन गरी मेची प्रादेशकि अस्पताल भद्रपुर पुर्याएको नगरप्रमुख आचार्यले बताउनुभयो ।

धाइजनको आईसोलेसन सेन्टरमा उपचार गर्दा उनमा केही कमि हुन्छ कि भनेर सुविधा सम्पन्न अस्पताल पठाइएको उहाँको भनाई छ । आइसोलेसनमा कार्यरत डक्टरकै परामर्शमा ती महिलालाई भद्रपुर पठाइएको हो । उपप्रमुख मीना पोखरेल उप्रेतीले संक्रमित गर्भवती महिलाको समस्या देखिएकाले थप उपचारका लागि मेची अस्पताल पठाईएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु