मेचीनगरको आम्दा अस्पतालमा बन्ने भो अक्सिजन प्लान्ट

2021-05-24 मा प्रकाशित

मेचीनगर, १० जेठ । देशमै अक्सिजनको अभाव भइरहेको समयमा मेचीनगरको धुलावारीस्थित आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट बन्ने भएको छ ।

८० लाख रुपैयाँको लागतमा निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको ग्लोबल फन्डले ३५ लाख रुपैयाँ र मेचीनगर नगरपालिकाले २० लाख रुपैयाँ अनुदान दिने छ ।

अपुग रकम मेची उद्योग वाणिज्य संघ, झापामा रहेका रोटरी क्लवहरु र निजी क्षेत्रबाट संकलन गरिने रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले जानकारी दिए ।

क्षेत्रीका अनुसार १५ दिनभित्र उपकरण नेपाल ल्याइसक्ने तयारी छ । स्वीडेनबाट उपकरण ल्याउने तयारी छ । प्रति घण्टा ४० सिलिन्डरमा ग्यास भर्न सक्ने क्षमताको दुई वटा मेसिन ल्याइने उनले जानकारी दिए ।

कोरोना सङ्क्रमितको उपचारमा अक्सिजनको हाहाकार भइरहेको अवस्थामा झापामा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपल्ट अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।

रोटरी क्लव अफ काँकरभिट्टालाई रोटरी इन्टरनेसनलले ग्लोबल फन्डबाट यो अक्सिजन प्लान्ट दिएको हो ।

प्लान्ट राख्नका लागि रोटरीले मेची अस्पताललाई रोजेको थियो । तर सरकारले सो अस्पताललाई ठूलो मात्रामा बजेट पठाएपछि रोटरीको सहयोग मेची अस्पतालले लिने इच्छा देखाएन ।

त्यसपछि मेचीनगरका दुई वटा रोटरी क्लवको पहलमा मेची आम्दा अस्पतालमा नै यो प्लान्ट राख्ने निर्णय गरिएको क्षेत्रीले बताए ।

अक्सिजन प्लान्ट आफ्नै नगरभित्र बनाउन रोटरीले सहयोग गर्ने भएपछि उत्साहित बनेको मेचीनगर नगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्न सहमति जनाएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिए ।

झापामा ८ वटा रोटरी क्लव छन् । ती सबैले प्लान्ट स्थापनामा सहयोग गर्ने भएका छन् ।

अक्सिजन प्लान्टको सञ्चालन आम्दा मेची अस्पताल आफैले गर्नुपर्ने छ । आम्दाको सञ्चालन आम्दा जापान, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघको त्रिपक्षीय सम्झौताबाट भइरहेको छ ।

रोटरी क्लव अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्रीले प्लान्ट ल्याइसकेपछि सिलिन्डरको जोहो गर्न थप सहयोगको खाँचो औल्याएका छन् ।

एउटा सिलिन्डर खरिद गर्न १५ हजार रुपैयाँ लाग्ने भएकाले देश र विदेशमा रहेका शुभेच्छुक दाताहरुसँग सिलिन्डर खरिदका लागि सहयोग आह्वान गर्नुपर्ने अवस्था रहेको उनले बताए ।लोकतन्त्रबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु