मेचीनगरमा टेलिमेडीसिन पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु

2021-05-29 मा प्रकाशित

मेचीनगर, १५ जेठ÷ १४ औँ गणतन्त्र दिवसको अवसर पारेर शनिबारबाट झापाको मेचीनगरमा भर्चुअलको माध्यमबाट ‘टेलिमेडीसिन’ पद्घतिबाट विरामीलाई परामर्श र उपचार दिन शुरु गरिएको छ ।

मेचीनगर नगरपालिकाको सहकार्यमा मेची अभियान र ‘केएचडीसी नेपाल’ नामक संस्थाको आयोजनामा दुईहप्ते अभियान शुरु गरिएको हो । मेचीनगरभित्र अभियान सञ्चालन भइञ्जेल नगरपालिकाले सहकार्य गर्ने छ । जुन जुन पालिकामा अभियान सञ्चालन हुन्छ त्यही त्यही पालिकासँग आयोजकले सहकार्य गर्ने छ । पालिकाले प्राविधिक एम्बुलेन्सलगायत अभियान टोलीलाई उपलब्ध गराउनुपर्ने छ ।

‘कोभिडसंगै ननकोभिडलाई सघाऔं’ भन्ने मुख्यः नारासहित शुरु अभियान अन्तर्गत शनिबार झापाको मेचीनगरको २, ६, १० र १४ नम्बर वडा, बुद्घशान्ति गाउँपालिकाको शन्तिनगर र मेचीनगर नगरपालिकासँग सीमाना जोडिएको भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडामा पुगेर विरामीलाई प्रत्यक्ष भेटी भर्चुअलको माध्यमबाट परामर्श र उपचार पद्घति गरिएको मेची अभियानका संयोजक विजय डालमियाले जानकारी दिनुभयो । अहिले कोभिड १९ महामारीका कारण अन्य रोगका विरामी र दिर्घरोगीहरुलाई समस्या नहोस भनेर यो अभियान शुरु गरिएको हो । किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) रोग दीर्घरोग मनिन्छ । अभियानमा गर्भवति महिला र डिप्रेशनमा परेकाहरुलाई समेत परामर्श र उपचार दिईने छ ।

पहिलो चरणमा मेचीनगरका विभिन्न वडालाई लक्षित गरेर अभियान शुरु गरिएको भएपनि भविष्यमा अभियानलाई झापा जिल्लाव्यापी बनाउने अभियानका प्रयोगशाला संयोजक स्वास्थ्यकर्मी दिलीप सुवेदीले बताउनुभयो । ‘कोभिडका कारण अरु रोगका विरामीले उपचार नपाउने अवस्था सिर्जना भयो’ उहाँले भन्नुभयो —‘यसकारण हामी ‘कोभिडसंगै ननकोभिडलाई सघाऔं’ भन्ने मुख्यः नारासहित गाउँ गाउँ पुग्न अभियानमा जुटेका हौ ।’ पहिलो दिन झापा मेचीनगर ६ की एकबृद्घको फोक्सोमा संक्रमण, मुखबाट रगत जाने समस्या देखिएको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाका वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्राध्यापक डक्टर सञ्जीवकुमार शर्माले‘टेलिमेडीसिन’ पद्घतिबाट विरामीलाई परामर्श र उपचारका लागि सुझाव दिदैं उहाँलाई तत्काल सुविधा सम्पन्न अस्पताल पठाउन अभियान टोलीलाई जानकारी गराउनुभयो । मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितकुमार तामाङको अगुवाईमा तत्काल मेची प्रादेशकि अस्पताल भद्रपुर लैजाने तयारी गरिएको सुवेदीको भनाई छ ।

अभियानमा मेचीनगरका विभिन्न वडामा फोकल पर्सनकारुपमा रहेका स्वास्थ्यकर्मीहरु विरामीहरुको घर घरमा पुग्ने उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने उनीहरुले अहिले सेवन गरिरहेको औषधिका बारेमा बुझेर फिल्डमा रहेका स्वास्थ्यकर्मीहरुले भर्चुअलको माध्यमबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाका वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्राध्यापक डक्टर सञ्जीवकुमार शर्मालाई जानकारी गराउने छन् । स्वास्थ्यकर्मीहरुको भनाइका आधारमा प्राध्यापक डक्टर शर्माले विरामीलाई अब के गर्ने ? के के परीक्षण गर्ने ? कस्तो औषधि दिने ? वा रोग निदानका लागि के के परीक्षण गर्ने ? जस्ता विषयका बारेमा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउने सके सम्म विरामीलाई नै आफ्नो रोगका बारेमा प्राध्यापक डक्टर शर्माले विरामीलाइ सोध्ने र आवश्यक परामर्श दिने काम हुन्छ । डक्टर शर्माको परामर्श अनुसार मेचीनगरका प्रत्येक वडा वडामा रहेका स्वास्थ्यकर्मीहरुले विरामीको सवै परीक्षण गर्नेछन् । परीक्षणका बारेमा उनीहरुले प्राध्यापक डक्टर शर्मालाई अवगत गराएपछि बाकी उपचार अघि बढ्ने स्वास्थ्यकर्मीसमेत रहनु भएका अभियानका प्रयोगशाला संयोजक स्वास्थ्यकर्मी दिलीप सुवेदीले बताउनुभयो ।

‘कोभिडको त उपचार भईहाल्छ तर, अन्य दीर्घरोगीलाई उपचारमा समस्या भएकाले यसबाट मुक्त गर्न हामीले यो अभियान शुरु गरेका हौ ’ मेची अभियानका संयोजक विजय डालमियाले भन्नुभयो—‘यसकारण पनि अभियान शहरभन्दा गाउँ केन्द्रित हुने छ । जिल्लाका अति दुर्गम विकट गाउँमा औषधि र स्वास्थ्कर्मी लिएर हामी पुग्ने छौ ।’ विशेगारी केएचडीसी किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) का दीर्घरोगी ग्रामीणक्षेत्रमा बढी रहेकाले उनीहरुको उपचारमा सहजहोस भन्ने उद्घेश्यले मेचीनगर नगरपालिकाको सहकार्यमा अभियान शुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्राध्यापक डक्टर शर्माको नेतृत्वमा सञ्चालित केएचडीसी किड्नी, हाइ ब्लडप्रेसर, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) कार्यक्रम नगरका विभिन्न वडामा सञ्चालन भइरहेपनि कोभिड १९ का कारण केही दिनका लागि स्थगित गरिएको थियो । अहिले कोभिडका कारण अन्य रोगीले उपचार नपाएको गुनासो बढेपछि नगरपालिकाले मेची अभियान र ‘केएचडीसी नेपाल’ नामक संस्थासँग सहकार्य गरेर अभियान शुरु गरेको नगरप्रमुख विमल आचार्यको भनाई छ । शनिबारमात्रै ३० जनाभन्दा बढी रोगीको घर घरमा पुगेर वडास्तरीय स्वास्थ्यकर्मी र अभियान टोलीले उनीहरुको अवस्था बुझेर भर्चुअलका माध्यमबाट प्राध्यापक डक्टर शर्मालाई जानकारी गराएको अभियान सचिवालय संयोजक पुष्पराज पौडेलले बताउनुभयो । ‘उहाँहरुको विभिन्न परीक्षण गर्न डाक्टर शर्माले भन्नुभएको छ’ संयोजक पौडेलले भन्नुभयो— ‘अब हामी निःशुल्क उहाँहरुको परीक्षण गछौं र रिपोर्टका बारेमा डाक्टर शर्मालाई अवगत गराउछौ ।’

मेचीनगरमा अधिकाँशमा उच्च रक्तचापको स्थिति भयाभह पाइएको यस अघिको शिविरले प्रष्ट पारेको छ । त्यसपछि मृर्गौला, डायबिटिज, कार्डियो भास्कुलर (मुटु) का रोगी पनि कम छैनन् । खासगरी लक्षण नदेखिने रोगहरु मृर्गौला, उच्च रक्तचाप, मधुमेह र मुटुवारे निःशुल्क स्वास्थ्य शिविरसंगै स्वास्थ्य जनचेतना प्रदान गदैं आएको ‘केएचडीसी नेपाल’ नामक संस्थाका संस्थापक डक्टर शर्मा शरहभन्दा बढी गाउँ केन्द्रित हुनुहुन्छ । ‘एबीसीडीई जचाऔ, मृर्गौला र मुटु बचाऔ’ भन्ने अभियानको नारा रहेको छ । नगर प्रमुख आचार्य यो अभियानले नगरका धेरै सर्वसाधारणलाई स्वस्थ र सचेत वनाउने र सिंगो नगरलाई नै निरोगी वनाउने कुरामा विश्वास गर्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु