काँकरभिट्टामा दुईदिने अभिमुखीकरण कार्यक्रम शुरु

2021-06-03 मा प्रकाशित

मेचीनगर, २० जेठ ÷ स्थल सीमानाका हेल्थडेक्समा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि विशेष दुईदिने अभिमुखीकरण कार्यक्रम विहीबारबाट झापाको काँकरभिट्टामा शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हेल्थडेक्स कार्यालय काँकरभिट्टाको व्यवस्थापनमा आइओएमको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा कार्यक्रममा विभिन्न क्षेत्रका दर्जनबढि सहभागीलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अप्नाएर विभिन्न ६ वटा विषयगत विधामा प्रशिक्षण प्रदान गरिएको थियो । स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डक्टर अमृत पोखरेलले कार्यक्रमको प्रमुख अतिथिको आसनबाट कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं वर्तमान कोभिड १९ को महामारीका बखत यसबाट कसरी बच्ने र नियन्त्रण र रोकथाम कसरी गर्नेलगायतका विषयमा प्रष्ट पारेका थिए । उनले कोभिड १९ को बारेमा जानकारी गराउदैं कोभिड १९ विरुद्घको खोप , कोभिड १९ केसको परिभाषा आईसोलेसन र क्वारेन्टाइनको बारेमा सहभागीहरुलाई जानकारी गराए । विश्व र नेपालको हालको कोभिड १९ को अवस्थाका बारेमा प्रोजेक्टरकामाध्यमबाट जानकारी गराएका थिए । कोरोना भाइरस भाइरसहरुको ठूलो परिवार रहेको र यसले कोभिड १९ लगायतका श्वास प्रशवासजन्य संक्रमण गराउने, हालै पत्ता लागेको कोरोना भाइरस सास कोभिड २ बाट हुने संक्रमाक रोग रहेको डाक्टर पोखरेलले स्पष्ट पारे । नेपालमा प्रचलित कोभिड १९ को निदानका विधि पीसीआर टेष्ट रहेको र टेष्ट गर्नका लागि नाक र घाटीबाट स्वाव लिइने बताइएको छ ।

हाल सम्म नेपालमा कोभिड १९ बाट ४ लाख ६१ हजार ५ सय ६३ जना निको भईसकेको, ५ लाख ७१ हजार १ सय ११ जना संक्रमित भएको तथ्याङ्क प्रस्तुत गदैं कार्यक्रममा संक्रमितको तुलनामा निको हुनेको दर ८० दशमलव ८ प्रतिशत, १ लाख १ हजार ९ सय ९३ जना संक्रिय संक्रमित रहेको कार्यक्रममा जानकारी गराइएको थियो । हालसम्म ७ हजार ५ सय ५५ जनाको कोभिड १९ का कारण मृत्यु भएको र मृत्यु दर १ दशमलव ३ प्रतिशत रहेको बताइएको छ ।

३० लाख ८८ हजार ३ सय ७६ जनाको आरटी र पिसिआर परीक्षण गरिएको तथा प्रवेशविन्दुमा ३७ हजार ८ सय ३९ जनाको एन्टी जेन परीक्षण गरिएको कार्यक्रममा बताइएको थियो । हालसम्म नेपालमा २१ लाख १३ हजार ८० जनाले कोभिड १९ विरुद्घको खोप लिइएको जानकारी गराइएको छ । कार्यक्रममा प्रवेश विन्दुमा कोभिड १९ स्क्रीनिङ्ग र परीक्षणका बारेमा आइओएम कन्सलटेण्ट ओमप्रकाश पौडेलले आफ्नो प्रस्तुतीकरण दिएका थिए । आइओएम कन्सलटेण्ट सुवन थापाले संक्रमण रोकथाम तथा नियन्त्रण यसका उद्घेश्यहरु, उपायहरुलगायतका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक कौशलचन्द्र सुवेदी र प्राविधिक डवलबहादुर विसीले विभिन्न विधामा जानकारी दिएका थिए । मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको सभापतित्वमा भएको उद्घाटनसत्रमा नगरप्रमुख विमल आचार्यलगायतले बोलेका थिए । कार्यक्रम भोली समापन हुने छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु